Kathmandu Press

३० तालिबानी लडाकुलाई एक्लै परास्त गर्ने वीर गोर्खाली

नेपालका गोर्खाली सैनिकलाई लिएर एउटा भनाइ प्रसिद्ध छ- ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने या त उसले झुट बोलिरहेको छ वा ऊ गोर्खाली हो।’
३० तालिबानी लडाकुलाई एक्लै परास्त गर्ने वीर गोर्खाली

नेपालका गोर्खाली सैनिकलाई लिएर एउटा भनाइ प्रसिद्ध छ- ‘यदि कसैले मर्न डर लाग्दैन भन्छ भने या त उसले झुट बोलिरहेको छ वा ऊ गोर्खाली हो।’ भारतीय सैनिकको सर्वोच्च अधिकारी तथा भारतको सैन्य इतिहासकै सबैभन्दा साहसी र सफल सैन्य अधिकारीमध्येका फिल्ड मार्सल साम मानेकसाको भनाइ हो यो।

र, यो नेपालका गोर्खा सैनिकले पाएको फगत प्रशंसा होइन, उनीहरूले कमाएको वीरगाथा हो। इतिहासका विभिन्न कालखण्डमा गोर्खाली सैनिकले देखाएको अतुलनीय साहस र अकल्पनीय वीरताको आर्जन हो।

Hardik ivf

गोर्खाली सैनिकले विश्वभर ठूलो नाम कमाएका छन्। ‘गुर्खा सैनिक विश्वकै सबैभन्दा निडर र एलिट योद्धा हुन्। उनीहरू मृत्युकै अगाडि पनि असाधारण बहादुरी, कौशल र वीरता देखाउँछन्,’ अमेरिकाका भूपू सैनिकहरूले ‘वी आर द माइटी’मा गोर्खाली सैनिकको बयान गर्दै लेखेका छन्।

सन् १८१६ मा एंग्लो–नेपाल युद्ध अन्त्यपछि नेपालका गोर्खाली सैनिकहरू ब्रिटिस तथा भारतीय सेनामा भर्ती हुन थालेका हुन्। त्यसक्रममा उनीहरूले विश्वका विभिन्न देशमा गएर आफ्नो वीरता प्रदर्शन गरेका छन्।

अहिले अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ। कुनैबेला ब्रिटिस आर्मीले त्यहाँ पनि थुप्रै गोर्खा सैनिकलाई खटाएको थियो। त्यसमध्ये एक हुन्, कर्पोरल जेनेरल दीपप्रसाद पुन।

सेप्टेम्बर २०१० को कुरा हो। बेलायती सेनाको रोयल गुर्खा राइफल्सका दीपप्रसाद पुन अफगानिस्तानको हेलमन्ड प्रान्तमा ड्युटी गरिरहेका थिए।

साँझको समयमा उनी आफ्नो चौकीमा एक्लै पहरा दिइरहेका थिए। त्यतिकैमा उनले नजिकैबाट खस्राकखुस्रुक आवाज आएको सुने। नजिकैको सडकमा दुईजना तालिबानी विद्रोहीहरू खाल्डो खनेर विस्फोटक पदार्थ आईईडी गाड्न खोज्दै थिए।

उनले आफूलाई चारैतिरबाट तालिबानी लडाकुहरूले घेरिसकेको थाहा पाए। अब चारैतिरबाट आक्रमण गर्नेछन् भन्ने उनले महसुस गरे।

त्यतिबेलासम्म अँध्यारो भइसकेको थियो। अँध्यारोसँगै तालिबानीहरूले आक्रमण सुरु गरे। गोली र आरपीजीको वर्षा नै गरे। तालिबानीहरू समूह बनाएर योजनाबद्ध रूपमा उनको चौकीमा हमला गर्न आएका थिए। दीपप्रसाद एक्लै थिए।

तर, उनी हडबडाएनन्। ट्राइपोडमा अड्याएर राखेको आफ्नो मेसिन गनलाई ट्राइपोडबाट निकाले र तालिबानी लडाकु भएको दिशातिर तेस्र्याए। र, मेसिन गनलाई ‘ह्यान्डहोल्ड’ नै गरेर जवाफी फायर गर्न थाले।

उनले मेसिन गनमा भएका सबै गोली तालिबानीमाथि प्रहार गरे। गोली सकिएपछि साथमा भएका ग्रिनेडहरू पनि प्रहार गरे। उनीसँग भएको ग्रिनेड पनि सकियो। तालिबानीहरूले निरन्तर उनको चौकीतर्फ एके–४७ र ग्रिनेड प्रहार गरिरहेका थिए।

ग्रिनेड सकिएपछि उनले एसए–८० सर्भिस राइफल उठाएर तालिबानीहरूलाई गोली हान्न थाले। त्यो पनि सकिएपछि उनले दुश्मनमाथि ल्यान्डमाइनसमेत प्रहार गरे।

दीपप्रसादले आफ्नो चौकी जोगाइरहेका बेला एकजना तालिबानी लडाकु लुकेर उनको चौकीछेउको गार्ड टावरबाट उनको चौकीको छतमा चढ्ेर उनीमाथि जाइलागे। दीपप्रसादले हतारमा पछाडि फर्किएर उसलाई गोली प्रहार गरे। तर, उनको निशाना चुक्यो।

टेउमा बालुवाको बोरा थियो। त्यही उठाएर हान्न खोजे। तर, बोराको मुख खुल्लै रहेछ, बालुवा सबै भुइँमै पोखियो।

वरपर हेर्दा अघि फुकालेर फालेको मेसिन गनको ट्राइपोड देखे। त्यही ट्राइपोड उठाएर उनले दुश्मनको टाउकामा हाने। ट्राइपोडले लागेर तालिबानी लडाकु चौकीको छानोबाट भुइँमा बजारिए।

उनी एक्लै रातभर तालिबानी फौजविरुद्ध लडिरहे। उनको ब्याकअपका लागि अतिरिक्त सैनिक बल नआएसम्म उनी एक्लै सिंगो सेनाविरुद्ध अटल भएर लडिरहे।

जब लडाइँ सकियो उनको चौकीको वरिपरि ३० जनाभन्दा बढी तालिबानी लडाकु ढलेका थिए। तर, एक्लो गोर्खाली सैनिक दीपप्रसाद पुन अझै अटल भएर उभिइरहेका थिए।

सो लडाइँमा उनले मेसिन गनबाट २५० राउन्ड र एसए–८० बाट ८० राउन्ड गोली, ६ वटा फोस्फोरस ग्रिनेड, ६ वटा साधारण ग्रिनेड, पाँचवटा ग्रिनेड लन्चर र एउटा क्लेमोर ल्यान्डमाइन प्रहार गरे।

उनको यो वीरताका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितियाले बकिङ्घम प्यालेसमा बोलाएर ‘कन्स्पिक्यूअस ग्यालेन्ट्री क्रस’ प्रदान गरिन्। युद्धमैदानमा देखाएको अदम्य साहस र वीरताका लागि प्रदान गरिने र ग्यालेन्ट्री क्रस पदक भिक्टोरिया क्रसपछिको सबैभन्दा विशिष्ट सम्मान हो।

‘त्यतिबेला मलाई एकरत्ती डर लागेको थिएन, मसँग लडाइँ गर्नुबाहेक अरू विकल्प पनि केही थिएन। तालिबानीहरूले चेकप्वाइन्ट घेरेका थिए भने म एक्लै थिएँ,’ दीपप्रसादले पदक लिएपछि भनेका थिए, ‘उनीहरू यति धेरैजना थिए कि मलाई आज मर्छु भन्ने लागिसकेको थियो। त्यसैले मर्नु अगाडि जतिसक्दो धेरै दुश्मनहरूलाई मारेर मात्र मर्छु भनेर जाइलागेको थिएँ।’

दीपप्रसाद खानदानी गुर्खा सैनिक हुन्। उनका बुवा पनि गुर्खा राइफलमा भर्ती भएका थिए। उनका हजुरबुवाले पनि गुर्खा राइफलबाट युद्ध लडेका थिए। उनका हजुरबुवा तुलबहादुर पुनले दोस्रो विश्वयुद्धमा बर्मामा देखाएको वीरताका लागि भिक्टोरिया क्रस नै पाएका थिए।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीबाट)

 

प्रकाशित मिति: ०६:३२ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्