डुबान प्रभावित क्षेत्रमा औषधि अभाव, केन्द्रबाटै स्वास्थ्यकर्मी खटाउने तयारी
काठमाडौं, असार ३० : बाढी प्रभावित तराईका जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ। स्वास्थ्य संस्था पनि डुबानमा परेकाले सबै औषधि नष्ट भएपछि औषधिको अभाव भएको हो।<....
काठमाडौं, असार ३० : बाढी प्रभावित तराईका जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ। स्वास्थ्य संस्था पनि डुबानमा परेकाले सबै औषधि नष्ट भएपछि औषधिको अभाव भएको हो।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयअन्तर्गतको आपतकालीन तथा विपद् व्यवस्थापन विभागका अनुसार, प्रदेश २ का रौतहट, महोत्तरी र सप्तरीमा केही स्वास्थ्य संस्था डुबानमा परेका छन्।
स्वास्थ्य संस्था नै डुबानमा पर्दा औषधि पनि नष्ट भएको विभाग प्रमुख चुडामणि भण्डारीले बताए। ति संस्थामा औषधि पठाउने तयारी भइरहेको उनले बताए।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा आउन सक्ने स्वास्थ्य समस्याको उपचारका लागि स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरिएको छ। स्वास्थ्य संस्था र औषधि डुबानमा पर्दा जोखिम बढेको जनाएको छ। ति क्षेत्रमा सजकता अपनाउन जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको उनले बताए।
बाढी पहिरो प्रभावित क्षेत्रमा दुषित पानी, अस्वस्थकर खानेकुराले समस्या नित्याउन सक्ने आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले जनाएको छ। झाडापखाला, आउँ, हैजा, मलेरीया, टाइफाइड र सर्पको टोकाइको जोखिम रहेको भण्डारीले बताए।
धेरैजसो ठाउँमा खानेपानीको मुहानमा भेल पसेर पानी दुषित भएको छ। पानी दुषित भएकै कारण यी सबै रोगहरु लाग्ने उनको भनाइ छ। यसका लागि गृह मन्त्रालयसँग समन्वय गरेर खानेपानी मन्त्रालयसँग पनि छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा समन्वय केन्द्र स्थापना
बाढी प्रभावित क्षेत्रमा समन्वय केन्द्र स्थापना गरिएको छ। तराईको बर्दीबास, पथलैया र लहानमा समन्वय केन्द्र स्थापना गरिएको हो। त्यसका लागि चिकित्सक सहितका तीन–तीन जनाको टोली आजै खटाउने तयारी भएको भण्डारीले बताए।
त्यस्तै, एकाइका शाखामार्फत पनि काम भइरहेको उनले बताए। थप आवश्यक परेको ठाउँमा केन्द्रबाट टोली खटाइने उनको भनाइ छ।
त्यस्तै, नेपाल चिकित्सक संघले पनि आवश्यक परेको ठाउँमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको जनाएको छ। अहिले स्थानीय तहमा रहेका संघका १६ शाखामार्फत स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा काम गरिरहेको संघका महासचिव डा.लोचन शर्माले बताए।
‘बाढी गएको बेला तुरुन्तै स्वास्थ्य समस्या हुँदैन। स्वास्थ्य समस्या पछि देखा पर्छ यसका लागि आवश्यक परे केन्द्रबाटै चिकित्सकको टोली पठाउँछौं,’ डा.शर्माले भने।






