‘बुवाले भन्नुभएथ्यो– छोरी, मेरो मृत्युपछि मेरो चित्र कोरेर घरमा सजाउनू’
तराईतिर घाँस काट्न गएकी एक दलित सुत्केरी महिलाको हत्या गरिएको खबरले अरुणालाई विक्षिप्त र भावविह्वल बनायो। उनले त्यही घटनालाई लिएर चित्र कोरिन्– एउटी महिलालाई तीन नांगा पुरुषले झम्टिरहेको र अरु तीन महिलाले मुखमा पट्टी बाँधेर त्यो दृश्य हेरिरएको। प्रदर्शनीमा यो चित्रल भावकको मन जित्यो।
काठमाडाैं, साउन ३२ : अघिल्लो मंगलबार बिहान चित्रकार अरुणा हिङमाङ नयाँ बानेश्वरस्थित आफ्नो स्टुडियोमा भोजपुरको सुन्तले डाँडालाई क्यानभासमा उतार्दै थिइन्। क्यानभासमा विशेषतः पाँच रङ पोतिएका थिए– नीलो, सेतो, गाढा हरियो, पहेँलो र सुन्तला। ‘यो घाम अस्ताउने बेलाको सुन्तले डाँडा हो,’ अरुणा भन्छिन्, ‘त्यसैले पहेँलो र सुन्तला रङको पनि प्रयोग गरेकी छु।’
भोजपुर नगरपालिकाभित्र पर्ने सुन्तले डाँडामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको चाप बढ्दै छ। हालको भोजपुर नगरपालिका वडा-४ मा २०२३ वैशाख २६ मा जन्मिएकी अरुणालाई आफ्नै क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै केही आर्थिक जोहो गर्नुछ। ‘यो ल्यान्डस्केप हो, फिल्डमै गएर बनाउनुपर्ने। स्टुडियोमा बनाउने भएकाले म यसमा केही आफ्नो सिर्जना मिसाउनेछु। त्यसैले मेरो ल्यान्डस्केप अलि फरक हुन्छ,’ उनले पहेँलो रङ चोबिएको कुची क्यानभासमा छुवाउँदै भनिन्, ‘अहिले सुरु मात्रै गरेको हो। यो पूूर्ण मूूर्त हुन्छ। यसलाई बनाउन दुई–तीन दिन लाग्छ। ४०–४५ हजार रुपैयाँमा बेच्छुु।’
अरुणाले अहिलेसम्म ६–७ सय जति चित्र कोरेकी छन्। अरुणाका चित्र १५ हजारदेखि ५ लाख रुपैयाँसम्ममा बिक्री हुन्छन्। काठमाडौंका दामोदर खड्का, जो एक कलाप्रेमी हुन्, उनले त अरुणाका १७ वटा पेन्टिङ घरमा सजाएका छन्।

आफूले बनाएका चित्र काठमाडौंका फाइभ स्टार होटलदेखि मन्त्रालयहरू, राष्ट्रपति कार्यालयसम्म सजाइएको उनी बताउँछिन्। उनले अहिलेसम्म पाँचवटा एकल प्रदर्शनी, २७ वटा सामूहिक प्रदर्शनी र विभिन्न माध्यमबाट २५ वटा अन्तर्राष्ट्रिय प्रदर्शनी गरेकी छन्। त्यस्तै, दर्जनौँ चित्रकला वर्कसप गरेकी अरुणाले दर्जनौँ अन्तर्राष्ट्रिय अवार्ड पनि पाएकी छन्।
सन् २०१५ मा फिफ्थ एसिएन रिजनल युनिअन अफ् साइकोलजी सोसाइटिज कंग्रेस, सिंगापुरले सिंगापुरमा गरेको प्रदर्शनीमा अरुणाले हिमालको चित्र राखेकी थिइन्। त्यो चित्र खुब मनपराइयो। यसरी अरुणाले चित्रका माध्यमबाट देशलाई विश्वमा चिनाउने काम पनि गर्दै आएकी छन्।
बुवाको प्रेरणा
अरुणाले २०४० सालमा एसएलसी दिएपछि चित्र कोर्न थालेकी हुन्। पहिलो चित्र उनले एक विदेशी महिलाको कोरेकी थिइन्। त्यो चित्र राम्रो मानेर साथीहरुले माग्न थाले, त्यसैले उनले ती एउटै महिलाको ८/९ वटा चित्र कोरिन्। चित्रमा उनी यति घोरिन थालिन् कि उनको आँखामा समस्या देखिन थाल्यो, त्यसपछि उनकी आमाले उनलाई चित्र नबनाउन आग्रह गरिन्। आग्रह मात्रै होइन, दबाब नै दिइन्।
आमाले छोरीकै हितका लागि भनेकी थिइन्, तर अरुणाको चित्त चित्रप्रति एकोहोरिसकेको थियो, उनले चित्रकलाको अभ्यास गर्न छाडिनन्। बरु आमाले नदेख्ने गरी रातमा चित्र कोर्थिन्। त्यतिबेला उनको समाजमा चित्रकलाको महत्त्व थाहा थिएन। त्यसैले उनलाई चित्र कोरेर नभुल्न, नअलमलिन धेरैको सुझाव हुन्थ्यो। अरुणाका बुवालाई भने छोरीको काम मनपथ्र्यो। चित्र बनाउन आवश्यक रङ तथा अन्य साम्रगी उनलाई बुवाले ल्याइदिन्थे। ‘प्रत्येक दिन बिहान बुवाले सोध्नुहुन्थ्यो– राति कस्तो चित्र बनाइस्, देखा त,’ अरुणा बुवाको हौसला सम्झँदै भन्छिन्, ‘मैले आफूले बनाएको चित्र देखाउँथेँ। बुवाले आकार मिले वा नमिलेको भनिदिनुहुन्थ्यो। मेरो प्रेरणाको स्रोत मेरो बुबा नै हो।’

अहिले उनका बुवा यस धर्तीमा छैनन्। तर, बुवाले भनेको एउटा वाक्य उनको स्मृतिमा ताजै छ र वाक्य अनुसारको एउटा चित्र उनको माइती घरमा झुन्डिएको छ। ‘बुवाले मसँग एउटा इच्छा व्यक्त गर्नुभएको थियो– छोरी, मेरो मृत्युपछि मेरो चित्र बनाएर घरमा सजाउनू,’ अरुणा भावुक हुँदै भन्छिन्, ‘बुवा खसेको धेरै वर्ष भयो। बुबाको चित्र बनाएर माइती घरमा सजाएकी छु।’
कहिलेकाहीँ माइती घर जाँदा उनले आफैँले बनाएको बुवाको चित्र हेर्छिन्, उनलाई बुवाको त्यस चित्रले एउटै शब्द दोहो¥याइरहेको आभास हुन्छ– छोरी, चित्र बनाउन नछाड्नू।
पहिलो कमाइ
सन् २००४ तिर उनी उपचारका क्रममा ओम अस्पताल गएकी थिइन्। त्यतिबेला डा. भोला रिजालसँग उनको परिचय भयो। चित्रकार भन्ने चिनेपछि डा. रिजालले उनलाई आफ्नो चित्र बनाउन भने। ‘मैले उहाँको चित्र बनाएँ,’ अरुणा भन्छिन्, ‘त्यसबापत उहाँले मलाई २५ सय रुपैयाँ दिनुभएको थियो, त्यही नै मेरो पहिलो कमाई हो।’
त्यसपछि डा. रिजालले उनलाई अस्पतालका लागि अन्य चित्र पनि कोर्न आग्रह गरे र राम्रै मूल्य दिए। ओम अस्पतालमा अरुणाले कोरेका बालकका चित्र थुप्रै छन्।
पछिल्लो समय नेपाल भित्रबाट मात्र नभई विदेश (अमेरिका, अस्ट्रेलिया, जापान आदि) बाट पनि चित्रको अर्डर आउँछन्। ग्राहकको माग अनुसार उनी चित्र कोर्छिन्। ‘धेरैले बुद्ध र महिलाका चित्र खरिद गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘पछिल्लो समय सकारात्मक भाव बोकेको चित्र बढी रुचाइन्छ, त्यसैले त्यस्तै चित्र कोर्न थालेकी छु।’
चित्रमा महिला
सन् २००५ तिर कवि, गीतकार तथा प्रशासक एपी कोइरालाले अरुणाका चित्र हेरेका थिए। एसपी पनि भोजपुरकै भएकाले चिनजान नजिकको थियो। कोइरालाले भने, ‘तिमीले त एकल प्रदर्शनी गर्नुपर्छ।’ यसपछि एसपी कोइराला र समाजसेवी पदम सुन्दास (अरुणाका मामा, हाल बहराइनका लागि राजदूत)ले अरुणालाई पहिलो एकल प्रदर्शनीका लागि पहल गरे। उनले पहिलोपल्ट सन् २००६ मा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एकल चित्र प्रदर्शनी गरिन्– ‘इन् क्वेस्ट अफ इन्ट्युसन अफ् रियालिटी’ शीर्षकमा।

विदेशी महिलाको चित्र बनाएर चित्रकलामा प्रवेश गरेकी अरुणाले एकल प्रदर्शनी अघिसम्म थुप्रै महिलाका चित्र कोरेकी थिइन्। उनले तिनै चित्र प्रदर्शनीमा राखिन्।
त्यति बेला तराईतिर घाँस काट्न गएकी एक दलित सुत्केरी महिलाको हत्या भएको थियो। उनको शव टुक्राटुक्रा अवस्थामा भेटिएको थियो। यो खबरले अरुणालाई विक्षिप्त र भावविह्वल बनायो। उनले त्यही घटनालाई लिएर चित्र कोरिन्। चित्रमा एउटी महिलालाई तीन नांगा पुरुषले झम्टिरहेको र अरु तीन महिलाले मुखमा पट्टी बाँधेर त्यो दृश्य हेरिरएको देखिन्छ। चित्रको पृष्ठभूमिमा अक्षर पनि छन्– सशस्त्र जत्थाबाट सिलसिलेवार बलात्कार।
प्रदर्शनीमा उनको यो चित्र भावकले खुब मन पराए। यो चित्रले भावकलाई बलात्कार र महिला हिंसाका घटना विरुद्ध बोल्न उत्प्रेरित गर्छ।
‘महिला पात्रलाई चित्रमा उतार्न महिलाका जीवनीदेखि भेटिएसम्मका महिलासम्बन्धी समाचार पढ्ने गर्छु’ उनी भन्छिन्, ‘म चिनिएको पनि महिलाको जीवनीलाई चित्रमा उतारेरै हो।’
०००
आइए सकेपछि अरुणाले १८ महिनाको सिएमए कोर्स गरेकी थिइन्। आफन्त पर्ने दिदीले धनकुटामा सिएमए अध्ययन गरिरहेकाले उनलाई पनि परिवारले पढ्न पठाएको थियो। तर उनलाई सिएमए पढ्न मन थिएन। दुई–तीनपल्ट उनी होस्टेलबाट भाग्ने कोसिस गरिन् तर असफल भइन्। उनको लगाव चित्रकलामा थियो। सिएमए पढ्दै गर्दा फुर्सदको समयमा उनले चित्र कोर्थिन्।

२०४७ मंसिरमा धनकुटाका उमेश हिङमाङसँग उनको मागी विवाह भयो। विवाह भएको तीन महिनामै उनका श्रीमान् रोजगारीका लागि जापान गए। त्यसपछि उनको एक्लोपनको साथी चित्रकला नै भइदियो। विवाहपछि उनी छोराछोरी हुर्काउनमै व्यस्त भइन्, अहिले उनकी एउटी छोरी अध्ययनका लागि अस्टे«लियामा छन्। छोराले नेपालमै स्नातक गरिरहेका छन्।
अहिले श्रीमान् र छोराले उनलाई चित्र बनाउने सामग्री ल्याउन सघाउँछन्।












-(86)-1764936079.jpg)