Kathmandu Press

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा जुट्यो सरकार, अन्तर्राष्ट्रिय समुदायसँग मद्धतका लागि आग्रह

अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन मद्दतका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग लिखित आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा जुट्यो सरकार, अन्तर्राष्ट्रिय समुदायसँग मद्धतका लागि आग्रह

काठमाडौं, साउन ३१ : अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन मद्दतका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग लिखित आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्ट्रहरू अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँदिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ।

यसअघि सरकारले परराष्ट्र मन्त्रालयको मध्यएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डययक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट सहसचिव वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरेको छ ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन रजिस्ट्रेसन पोर्टलको व्यवस्था गरिएको छ। ‘सो पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई आग्रह गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितका मोबाइल नम्बर मन्त्रालयले व्यवस्था गरेको छ ।

‘अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन आग्रह गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति: २०:३६ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्