Kathmandu Press

‘चार दिनभित्रै सरकारले पूर्णता पाउँछ’ : रमेश लेखक 

काठमाडौं, साउन ३१ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । आज...
‘चार दिनभित्रै सरकारले पूर्णता पाउँछ’ : रमेश लेखक 

काठमाडौं, साउन ३१ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका छन् । 

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिलेको सरकार गठबन्धनको सरकार भएकोले सरकारलाई पूर्णता दिने सवालमा केही ढिलाई भएको र यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । तर, अबको चार दिनभित्र सरकारले पूर्णता पाउने उनको दाबी छ । सरकारमा नेकपा (एमाले) को माधव नेपाल समूह आउँछ कि आउँदैन भन्ने कुरा यकिन नभएको पनि उनले टिप्पणी गरे । 

सरकारलाई सही तवरले सञ्चालन गराउनको लागि गठबन्धनको तर्फबाट साझा न्यूनतम कार्यक्रम पनि ल्याईसकिएको उनको भनाई छ । यस्तै उनले पार्टीको १४ औं महाधिवेशन नयाँ सार्वनिक कार्यतालिका अनुसार नै समयमा हुने विश्वास दिलाएका छन् । उनले भने,‘हाम्रो पार्टीको महाधिवेशनको नयाँ मिति हामीले सर्वसम्मतीको आधारमा घोषणा गरेका छौं, अब घोषित मितिमै महाधिवेशन हुन्छ ।’ कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको उनको जिकिर छ । उनले भने,‘भदौ १८ गते वडा अधिवेशन सुरु हुन्छ, एवम् रितले अब सबै अधिवेशन हुँदै जान्छन्, मंसिर ९, १०, ११, १२ र १३ गते पार्टीको केन्द्रीय महाधिवेशन सम्पन्न गर्छौं ।’ 

उनले हिजो सार्वजनिक गरिएको महाधिवेशनको नयाँ कार्यतालिका संविधानसम्मत् नै रहेको पनि दाबी गरे । उनले भने,‘यो कार्यताकिाले संविधानको मर्म र भावनालाई समेटेको छ ।’ नेता लेखकले कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको अहिलेको गठबन्धन लामो समयसम्म जाने पनि विश्वास दिलाए । नेता लेखकले नेपाल र भारतबीच लामो सम्बन्ध रहेकोले यसलाई अझै मजबुद बनाउनुपर्नेमा जोड पनि दिए । 

यस्तै, नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भारत यो क्षेत्रकै लागि अनुरकणीय देश भएकोले यसको विकास र समृद्धिबाट सबैले सिक्नुपर्ने बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा आफू र पार्टीको तर्फबाट भारत सरकार र भारतीय जनतालाई शुभकामना दिँदै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भारतले पछिल्लो समय हाँसिल गरेको विकास र समृद्धि उदाहरणीय भएको बताए । 

यस्तै, परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् । उनले तालिबानले अफगानिस्ताको मुख्य मुख्य शहर कब्जा गरिसकेको र अब राजधानी काबुल मात्रै कब्जा गर्न बाँकी रहेकोले नेपाल सरकारले आफ्ना नागरिकलाई यथाशक्य चाँडो नेपाल ल्याउनुपर्ने बताए । 
 

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्