वैदेशिक रोजगारीमा रहेका नेपालीको अधिकारका लागि कसैसँग झुक्दिनँः मन्त्री विष्ट
काठमाडौं, असार २९ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको अधिकार र सुरक्षाका लागि कसैसँग....

काठमाडौं, असार २९ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको अधिकार र सुरक्षाका लागि कसैसँग नझुक्ने बताएका छन्।
आइतबार मन्त्रलयमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री विष्टले नेपाली नागरिकको अधिकार रक्षाका लागि सरकार अडिग रहने बताए। मन्त्री विष्टले केही व्यक्तिले आफ्नो स्वार्थका लागि गर्ने कार्यलाई निरुत्साहित बनाउँदै अरु देशसँग श्रम सम्झौता गर्दा नेपाली श्रमिकको हक अधिकार स्थापित हुने गरी अडान राखिने पनि बताए।
मन्त्री विष्टले वैदेशिक रोजगारीलाई कम गर्दै नेपालमा भएको सम्भावना उपयोग गर्न पनि आग्रह गरे। नेपालमा भएको सम्भावनालाई उपयोग गर्न सके समाज विकास र देशको परिवर्तनमा महत्वपूर्ण भूमिका हुने बताए।
कार्यक्रममा मन्त्रालयले ६ जना उद्यमीहरुलाई सम्मान गरेको थियो। सम्मानित भएका मध्य एक जना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु पाँच जना उद्यमी पुरस्कारबाट सम्मानित भए। सम्मानित हुनेमा उद्यमीहरु दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्किएका हुन्। यस्तै, शर्मिला अधिकारी, नवराज पौड्याल र निरबहादुर रावत यूएईबाट फर्किएका हुन् भने एकबहादुर सिङताङ मलेसियाबाट फर्किएका हुन्। सम्मानित सबैले आफ्ना उद्योगमा १५ देखि ५० जना सम्मलाई रोजगारी दिएका छन्।











