टोकियो ओलम्पिक्सको तयारीमा जापानः इबोला भाइरसको चिन्ता
टोकियो आसपासका नगरमा विश्वका केही खतरनाक भाइरसको अध्ययन हुने भएको छ। स्थानीयले विरोध गरे पनि एक जना स्थानीय मेयरले उक्त परीक्षण स्वीकृत गरेका हुन्।
मुसाशिमुर....
टोकियो आसपासका नगरमा विश्वका केही खतरनाक भाइरसको अध्ययन हुने भएको छ। स्थानीयले विरोध गरे पनि एक जना स्थानीय मेयरले उक्त परीक्षण स्वीकृत गरेका हुन्।
मुसाशिमुरायामाका मेयर मासा फुजिनोले स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्री ताकुमी नेमोतोसँग वार्ता गरी नागरिकलाई इबोला, लास्सा लगायतका सुरक्षा दिन जापानले त्यसबारे जान्नु आवश्यक रहेको सहमति गरे।
नेसनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेज (एनआइआइडी)ले सञ्चालन गरेको प्रयोगशाला ‘बायोसेफ्टी लेभल फोर’ (बिसएल-४) वर्गीकरण गरिएको एक मात्र पूर्वाधार हो। अर्काे वर्ष आयोजना हुने रग्बी वल्र्ड कप र टोकियो ओलम्पिक गेम्सको पूर्वतयारीका लागि विशेषज्ञहरू ती भाइरसको अध्ययन गर्न चाहन्छन्।
‘यसबारे हामीले राम्ररी बुझेका छौं,’ बैठकपछि नेमोतोले सञ्चारकर्मीलाई भने ,‘सुरक्षाको दिशातर्फ यो एउटा मुख्य प्रगति हो।’ प्रयोगशालामा कुनै दुर्घटना भए स्थानीय सरकारलाई जानकारी गराउने र अन्ततः स्थानान्तण गर्नेबारे पनि विचार गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ।
डा. मासायुकी साइजो एनआइआइडीको भाइरोलोजी डिभिजनका निर्देशक हुन्। उनले यो निर्णयलाई सकारात्मक बताएका छन्। जापानी वैज्ञानिकले अहिले निको नहुने रोगको उपचार पत्ता लगाउन सहयोग गर्नुपर्ने उनले बताए।
‘यी अत्यधिक खतरनाक भाइरस ल्याएर संवेदनशील र विशिष्ट निदान प्रक्रिया हामी विकास गर्न चाहन्छौं,’ साइजोले भने,‘जापानमा ती रोग देखा नपरेपनि टोकियोले सन् २०२० मा ओलम्पिक्स आयोजना गर्दैछ। त्यसैले यी रोग भित्रिने जोखिम पनि बढी छ।’
मन्त्रालयले यो साताभित्र अन्तिम स्वीकृति दिने साइजोले अपेक्षा गरेका छन्। इबोला र मारबर्गजस्तो खतरनाक भाइरसको जोखिम भए पनि परीक्षणको विरोध भएको छ। पश्चिम टोकियोका स्थानीयले मन्त्रालयले आयोजना गरेको सार्वजनिक बैठकमा प्रस्तावको विरोध गरेका छन्। अन्तिम बैठक मे महिनामा गरिएको थियो।
‘ओलम्पिक्सकै कारण हामीले योजना स्वीकार्नु पर्ने सरकारको वाहियात तर्क हो,’ असाही समाचारपत्रले नोभेम्बर महिनामा आयोजना गरिएको अर्काे बैठकका सहभागीलाई उद्धृत गर्दै लेखेको छ,‘हामी चिन्तित छौं। यो हामीलाई स्वीकार्य छैन।’
मुसाशिमुरायामा प्रयोगशाला सन् १९८१ मा निर्माण गरिएको हो। त्यहाँको ‘एयर भेन्ट’, परीक्षणका लागि प्रयेगा गरिएका पशु भागे वा भूकम्पका कारण पूर्वाधार भत्किए जोखिम हुने स्थानीयको चिन्ता व्यक्त गरेका छन्। तर साइजो र उनको टोलील ‘हेमोराजिक’ ज्वरो मानिसको सम्पर्कबाट मात्र फैलिने भएकाले हावाबाट संक्रमण हुने जोखिम नभएकोमा जोड दिएका छन्।
प्रयोगशलालाई ‘मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ (मर्स) र ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) को अध्ययन गर्न प्रयोग गरिएको छ। हाल यहाँ २० जना प्राविधिक काम गरिरहेका छन्। सन् २००९ मा पहिलो पटक चिनियाँ वैज्ञानिकले ‘आइसोलेट’ गरेको ‘हुयाइयाङशान वान्याङभाइरस’ अध्ययन गरिरहेका छन्।
यो ‘फ्लिबोभाइरस’ त्यसपछि दक्षिण कोरिया र जापानमा देखा परेको छ। हाल यसको कुनै उपचार छैन। यसको संक्रमण भएपछि, ज्वरो, वान्ता हुनुका साथै शरीरका अंगले काम गर्न छोड्छ। ‘यो एकदमै महत्वपूर्ण काम हो। हामीले बिएसएल–४ प्रयोगशाला प्रयोग गर्न थालेको धेरै वर्ष भयो। हामीले स्थानीयवासी र स्थानीय सरकारको विश्वास जित्नैपर्छ। यो एउटा निरन्तर प्रक्रिया हो,’ साइजोले भने।
सन् २०१४ मा कंगोमा इबोलाको महामारी फैलिँदा उनले स्थलगत अनुसन्धान गरेका थिए। उनले नाइजेरियाको ‘लास्सा फिभर’ पनि अध्ययन गरेका छन्।
‘हाम्रो कामबारे स्थानीयवासीले कस्तो अनुभव गर्छन् हामीले बुझेका छौं। हामीले गरेको काम सुरक्षित छ भनेर बुझाउनु हाम्रो जिम्मेवारी हो। भविष्यमा हामीले उनीहरूको विश्वास जित्नेछौं भन्नेमा म ढुक्क छु,’ उनले भने,‘र त्यसो गर्नु महत्वपूर्ण पनि छ किनभने यस्ता रोग लाखौं मानिसका लागि गम्भीर खतरा बन्दै गएका छन्।’