निजी क्षेत्रकै भरमा बाढीपीडित, केन्द्रबाट अझै पुगेन राहत
काठमाडौं असार २९ : चार दिनदेखि देशभर लगातार परेको वर्षाका कारण तराईका विभिन्न जिल्लामा बाढी र पहाडी क्षेत्रमा पहिरोले जनधनको ठूलो क्षति पुगेको छ। कयौं....

काठमाडौं असार २९ : चार दिनदेखि देशभर लगातार परेको वर्षाका कारण तराईका विभिन्न जिल्लामा बाढी र पहाडी क्षेत्रमा पहिरोले जनधनको ठूलो क्षति पुगेको छ। कयौं ठाउँमा उद्दारसँगै राहतको पनि आवश्यकता परेको छ।
तर, तराईका अधिकांश जिल्लामा जलमग्न भइरहँदा केन्द्रबाट भने बाढीपीडितहरुका लागि कुनै पनि राहतका सामग्री पठाइएको छैन। निजी क्षेत्रले नै बाढी पीडित क्षेत्रमा राहत वितरण गरिरहेका छन्।
नेपाल खाद्य संस्थानले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पठाएको छैन्। रातह पठाउनका लागि गृह मन्त्रालयबाट केही खबर नआएको नेपाल खाद्य संस्थानले जनाएको छ।
अहिलेसम्म राहत पठाउन नपरेको बताउँदै संस्थानका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘अहिले निजी क्षेत्र आफैले राहत वितरण गरिरहेको हुनाले हामीले राहत पठाउन परेको छैन।’
अहिलेसम्म गृह मन्त्रालयले राहतका विषयमा केही माग नआएको उनले बताए। ‘हामीलाई गृह मन्त्रालयअन्तर्गत दैविक विपत्त व्यवस्थापनबाट कुनै जानकारी आएको छैन। आएपछि हामी राहत वितरणमा खटिने छौं,’ महानिर्देशक गौचनले काठमाडौंप्रेससँग भने।
खाद्य संस्थानसँग अहिले १५ देखि २० हजार मेट्रिकटनसम्म चामल मौज्दात रहेको छ। त्यस्तै, गहुँ, फापर पनि छ। अहिलेको अवस्थामा सात–आठ हजार मेट्रिक टनसम्म राहत खपन हुन सक्ने उनको अनुमान छ।
संस्थाले ३३ हजार मेट्रिक टनसम्म खाद्यान्न मौज्दात राख्ने गरेको छ। अहिले केही कम भएपनि राहतका लागि प्रयाप्त भएको उनको भनाइ छ। ‘अहिले तत्काल माग नआएको भएपनि तयारी अवस्थामा रहेका छौं, आदेश आउने वित्तिकै राहतमा खटिन्छौ,’ गौचनले भने।











