Kathmandu Press

कांग्रेसले भदौ २ भित्र क्रियाशील सदस्यता विवाद सुल्झाउने

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।कांग्रेस...
कांग्रेसले भदौ २ भित्र क्रियाशील सदस्यता विवाद सुल्झाउने

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य लेखकले भदौ २ गते भित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको हो।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा यही साउन २८ गतेदेखि प्रारम्भ भइ शनिबार सम्पन्न बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।  

महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार, गाउँ तथा नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते, केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ।

पार्टीको निर्वाचन निर्देशिका पारित

बैठकले पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भदौ १ गते सहमतिमा टुङ्गो लगाई भदौ २ गतेभित्र सभापतिलाई बुझाउने गरी पार्टीको निर्वाचन निर्देशिका पारित गरिएको छ।

पार्टीको १४औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने निर्णय भएको जानकारी सचिव पौडेलले दिए। कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्वसम्बन्धी कांग्रेसको विधानमा संशोधन गरेको छ। विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ।

पदावधि समाप्त भएका भ्रातृ संस्थाको अवधि ६ महिना थप

बैठकले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ सङ्घहरु नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाती सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ्ग सङ्घ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको छ।

बैठकमा आज केन्द्रीय सदस्यहरु डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, एन.पी. साउद, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, बीरबहादुर बलायर, अमृत अर्याल, विष्णुविक्रम थापा, डा. टि.एन. योगी र आमन्त्रित केन्द्रीय सदस्यहरु कुमार खड्का र दिलिप राईले धारणा व्यक्त गरेका थिए। (रासस)

प्रकाशित मिति: ०७:०१ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्