संसदीय समितिको निर्देशन- बाढीपहिरो पीडितलाई राहत र उपचारको व्यवस्था गर
काठमाडौं, असार २९ : राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारका लागि उचित व्यवस्था गर्न सरकारलाई निर्....
काठमाडौं, असार २९ : राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारका लागि उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार बसेको समितिको बैठकले बाढीपहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारका लागि तत्काल उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।
बैठकले बाढीपहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको व्यवस्था तत्काल मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ। त्यसैगरी बेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको सभापति श्रेष्ठले बताइन्।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान जानेहरुको संख्या हालसम्म ४५ जना पुगेको जानकारी समितिलाई गराएका थिए।
त्यसैगरी, ३२ जना बेपत्ता, २९ जना घाइते भएको र २ हजार ६३ जनालाई उद्दार गरिएको पनि गृह मन्त्रालयको आइतबार अपरान्हसम्मको तथ्यांकमा उल्लेख गरिएको छ। गृहमन्त्री थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको पनि बताए।
तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढी प्रभावित भएका छन्।






