बादी परिवारको पीडा : न बस्ने ओत न खाने गाँस
अर्घाखाँची, साउन ३० : शीतगंगा नगरपालिका-६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन्। वर्षाका समयमा...
अर्घाखाँची, साउन ३० : शीतगंगा नगरपालिका-६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन्। वर्षाका समयमा झुप्रोमा पानी चुहिएर न बस्न मिल्छ न सुत्न।
उहाँका परिवारमा बस्न मात्र समस्या होइन, खान पनि अन्न छैन। उनले भने, ‘पहिले–पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेका थिए। अहिले कोरोनाले गाउँ डुल्न पनि दिँदैनन् । घरमा खाने अन्न छैन। कति दिन त जङ्गलको च्याउ र बाँसको तामा खाएर छाक टारेका छौं।’
श्रीमती गुमाएका उनका पाँच छोराछोरी छन्। उनी अपाङ्गता भएका व्यक्ति हुन्। एक हात र एक खुट्टाका औला गाँसिएका छन्। उनले कसैकामा मेलापात गएर पनि काम गर्न सक्दैनन्। साना बालबालिका पाल्न पनि गाह्रो छ। घर यस्तै छ।
गहभरि आँसु झार्दै उनले भने, ‘परिवार कसरी पाल्ने ? गाउँभर डुल्थेँ, गाउँलेले दया गरेर कसैले अन्न त कसैले पैसा दिन्थे। त्यही पैसा र अन्न घरमा लगेर छोराछोरी पालेको थिएँ। अहिले कोरोनाका कराण गाउँ हिँड्न पनि भएन। गाउँमा हिँड्न हँुदैन रोग सर्छ भन्छन्। अहिले खाने खर्चै छैन।’
खाने खर्च नहुँदा जंगलमा गएर कहिले च्याउ कहिले बाँसका तामा काटेर जेनतेन छाक टार्ने गरेको उनी बताउँछन्। सामान्य खालको झुप्रो, त्यो पनि पानी बलेनीमा नै नपर्ने छानो नै नभएको ठाउँमा दिन बिताउन यो परिवारका सदस्य बाध्य छन् । ‘मनभरि पीडा छ, मनमा सन्तोष छैन, न त बस्ने घर नै छ न खाने गाँस छ, हाम्रो पीडा कसले कहिले बुझिदिने ?’ उनले भने, ‘हाम्रो पीडा सुन्ने कोही छैन, पटकपटक झुप्रो बनाउन जस्तापाता ९टिन० दिने भनेर आश्वासन दिए पनि हामीलाई अहिलेसम्म दिएनन्, गाउँमा सरकारको टिन लिएर लगाएको हामीले नै देखिरहेका छौँ । तर हामीलाई कसैले दिँदैन ।”
कोभिड र गरिबीका नाममा थुप्रै राहतका प्याकेज र कार्यक्रम आए तर पनि यो परिवारलाई कसैले देखेको छैन। कसैले राहत दिएको छैन। उनीहरुको पीडा जस्ताको तस्तै छ।
दाङसिङको पाखापानीकै २८ वर्षीय बोमु बादी शारीरिक हिसाबले पनि अपाङ्गता भएका व्यक्ति हुन्। उनले घरमै बसीबसी मादल बनाएर परिवारको गुजारा चलाएका थिए। अहिले उहाँ निकै पीडमा हुनुहुन्छ।
उनले भन्नुभयो, ‘हाम्रो त घर भन्ने भएन, बरु ठुलो रुखमुनि गएर बसे सुरक्षित हुन्छौं जस्तो लाग्न थाल्यो, घामपानीसँग त लडेकै छौं भोकसँग पनि लड्नुपरेको छ। धेरै दिन भयो खाना पूरा पेट खाने स्थिति छैन।
शीतगङ्गा-६ का वडाध्यक्ष रिसी रेश्मीले जनता आवास कार्यक्रमअन्तर्गत बादी परिवारलाई घर निर्माणसम्मको प्रक्रिया अगाडि बढाई खातासम्म खोलेको र अन्तिममा आएर काम हुन नसकेकोे बताए। उनले भने, ‘निकै पीडादायक स्थिति छ, हामी गम्भीर छौँ, राहत दिने गरी यो वर्ष सिफारिस गरेर काम अन्तिममा पुग्दा पनि पैसा दिन सकिएन कर्मचारीले ढिला भो काम गर्न सकिएन भन्नुभो हामी निकै विवश छौँ, यस वर्ष जसरी पनि काम समयमै गर्ने योजनामा छौँ।’
योजना तथा कार्यक्रमको प्रक्रिया नै ढिलो गर्दा काम गर्न नसकिएको नगरपालिका प्रमुख प्रशासकीय प्रेमबहादुर केसी बताए। उनले भने, ‘असार मसान्तको अन्तिम दिनसम्म उहाँहरु खाता खोल्ने काम गर्दै हुनुहुन्थ्यो, सर्भरले काम नगर्दा अहिले काम हुन सकेन, अन्तिममा कामको पनि चाप भयो।’
धेरैपटक गुनासो राख्दा पनि वडा र नगरपालिकाले व्यवस्था गरेको जनताको समस्याप्रति जिम्मेवार नभएको सोही वडाका समाजसेवी तथा सञ्चारकर्मी विक्रम आचार्यले बताए। उनले भने, ‘बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ, कतिपटक भन्नु जनताको काम गर्नलाई कसले रोकेको हो, पँहुचका आधारमा मात्र काम गर्ने आवाजविहीनहरुको आवाज कहिले सुन्ने?’
अशिक्षित गरिब, उत्पीडित समुदायका नागरिकलाई राज्यको प्रक्रिया कसरी थाहा हुन्छ वादी परिवारलाई दोष दिने ठाउँ छैन। उनीहरुलाई अहिलेसम्म पनि परिवर्तन विकासले थोरै पनि किन छुन सकेको छैन।
ती समुदायले परम्परागतरूपमा मादल बनाएर मादल मर्मत गरेर त्यसबाट आउने आर्थिक आम्दानीले जीविकोपार्जन गर्दै आएका थिए। पछिल्लो समय कोभिड–१९ को महामारीका कारण स्थानीयरूपमा तिजको नाचगान तथा दीपावलीमा नाचिने देउसीभैली सञ्चालन नहँुदा उनीहरु अन्य पेसा व्यवसाय अँगाल्न बाध्य छन्।
बोमु बादीले भने, ‘पहिले मादल बनाएर सिजनमा १ लाखदेखि १ लाख ५० हजार आम्दानी हुन्थ्यो। परिवार पाल्न सजिलो थियो। आजभोलि मादल बिक्री नै छैन मर्मत पनि आउँदिन १ सय कमाउन पनि मुस्किल हुने गर्छ।’ (रासस)




-1789386172.jpg)




-1789386172.jpg)

