Kathmandu Press

राखेपको सर्त नमान्ने खेलकुदसँग सम्बन्धित संस्थालाई विघटन गर्ने सरकारको तयारी

काठमाडौं, असार २९ : सरकारले राष्ट्रिय खेलकुद परिषद्का सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ–संस्थालाई विघटन गर्ने भएको छ।&....

राखेपको सर्त नमान्ने खेलकुदसँग सम्बन्धित संस्थालाई विघटन गर्ने सरकारको तयारी

काठमाडौं, असार २९ : सरकारले राष्ट्रिय खेलकुद परिषद्का सर्त नमान्ने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघ–संस्थालाई विघटन गर्ने भएको छ। 

संघीय संसदको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले ६ महिनासम्म पनि राष्ट्रिय खेलकुद परिषद्को सर्त पालना नगर्ने ओलम्पिक कमिटीसहितका खेलसँग सम्बन्धित संघसंस्थालाई विघटन गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताए।

उनले विधेयकमा उल्लेख गरिएको सो प्रावधान राष्ट्रिय/अन्तराष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसला अनुसारनै राखिएको दाबी पनि गरे। विधेयकमा खेलकुद संघहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आवद्ध हुनुपर्ने पनि प्रस्ताव गरिएको छ। मन्त्री विश्वकर्माले परिषद्का सर्त नमान्ने खेलकुद संघसंस्थाहरुलाई ६ महिनासम्म निलम्बन गर्ने प्रावधान पनि विधेयकमा राखिएको बताए।

बैठकमा समितिका सदस्यहरुले भने ओलम्पिक कमिटीलगायतका खेलसँग सम्बन्धित संघसंस्थाहरुको आवद्धता राष्ट्रिय खेलकुद परिषद्बाहेकमा पनि हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले अन्तराष्ट्रिय खेलहरुसँग आवद्ध संघहरुलाई राष्ट्रिय खेलकुद परिषद् बाहेकका संस्थाहरुसँग पनि संस्थागत रुपमा आवद्ध हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे।

खेलकुद क्षेत्रको विकासका लागि पनि समाज कल्याण परिषद्, गैरसरकारी संस्थाहरुसँग खेलकुद संघहरुले आवद्ध हुन पाउनुपर्ने उनको तर्क थियो।

समितिका सदस्यहरुले खेलकुद पदाधिकारीहरुको चयन गर्दा खेलकुद क्षेत्रमा आवद्ध भएका व्यक्तिहरुलाई नै समावेश गर्न पनि सरकारलाई सचेत गराएका थिए।
 

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्