Kathmandu Press

बाढीपहिरोका कारण हवाइ टिकट सकिए, महँगो टिकट मात्रै विक्रीमा

काठमाडौं, असार २९ : बाढी तथा पहिरोले सडक यातायात अवरुद्ध भएपछि हवाइ सेवामा चाप थपिएको छ। जसका कारण सबै जसो एयरलाइन्स कम्पनीले महँगो टिकट मात्रै विक्री....

बाढीपहिरोका कारण हवाइ टिकट सकिए, महँगो टिकट मात्रै विक्रीमा

काठमाडौं, असार २९ : बाढी तथा पहिरोले सडक यातायात अवरुद्ध भएपछि हवाइ सेवामा चाप थपिएको छ। जसका कारण सबै जसो एयरलाइन्स कम्पनीले महँगो टिकट मात्रै विक्रीमा राखेका छन्।

यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयरलगायत सबै एयरलाइन्सले हवाई यात्रुलाई महँगो टिकट मात्रै विक्री गरेका छन्। ‘सडक अवरुद्ध हुँदा हवाइ क्षेत्रमा यात्रुको चाप बढेकाले टिकट महँगो मात्रै बाँकी रहेको छ,’ श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले भने।

काठमाडौंबाट जाने र काठमाडौं आउने उडानमा एयरलाइन्सहरुमा टिकट लिन यात्रुलाई सास्ती भएको छ। सबै एयरलाइन्सले सबै क्षेत्रमा उडान नियमित गरिरहेको भएपनि यात्रुको चाप बढेपछि टिकट पाउन कठिन भएको मानन्धरले बताए।

सरकारले तोकेको न्यूनतम र अधिकतम भाडामध्ये यतिबेला एयरलाइन्स कम्पनीहरूले अधिकतम मूल्यका मात्रै टिकट विक्रीमा राखेको हुन्। अहिले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा सबैभन्दा बढी चाप रहेको मानन्धरले जानकारी दिए।

काठमाडौैंसहित विराटनगर, सिमरा, भैरहवा, नेपालगन्ज, भरतपुर, धनगढी, भद्रपुर, जनकपुर विमानस्थलमा यात्रुको चाप धेरै रहेको छ। बाढी पहिरोको जोखिम बढेपछि दुर्गम क्षेत्रमा पनि हवाइ चाप अध्याधिक बढेको छ।

नेपालगन्ज, विराटनगर तथा पोखराबाट हुने पहाडी क्षेत्रको उडानमा पनि यात्रुको अत्याधिक चाप बढेको हो। काठमाडौं विमानस्थलबाट हुने आन्तरिक उडानमा पनि अत्यधिक चाप बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

सामान्य अवस्थामा दैनिक दुई सय ५० वटा उडान-अवतरण हुने हुने गरेको थियाे। तीन दिनयता भने दैनिक तीन सय ५० भन्दा बढी उडान-अवतरण भइरहेको तिवारीले बताए।

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, असार २९, २०७६