Kathmandu Press

जसले ५० वर्षदेखि नागको चित्र कोरिरहेका छन्

काठमाडौं महानगरपालिका वडा २५ असनको मांसगल्लीका स्थानीय बासिन्दा हुन्, चित्रकार। उनले पाँच दशकदेखि नागपञ्चमीका लागि चित्र रंगाएर बेच्दै आएका छन्।
जसले ५० वर्षदेखि नागको चित्र कोरिरहेका छन्

काठमाडौं, साउन २९ : गत बिहीबार साँझ नागको चित्रमा विभिन्न रङ लगाएर तयार बनाउन भ्याइनभ्याइ थियो, ६० वर्षीय नरेन्द्र चित्रकारलाई।

श्रावण शुक्ल पञ्चमीमा प्रत्येक वर्ष नागको पूजा गर्ने चलन छ। त्यसका लागि काठमाडौंका पुराना बासिन्दा उनको हातले रंगाएको नागको चित्र किन्न आउँछन्।

काठमाडौं महानगरपालिका वडा २५ असनको मांसगल्लीका स्थानीय बासिन्दा हुन्, चित्रकार। उनले पाँच दशकदेखि नागपञ्चमीका लागि चित्र रंगाएर बेच्दै आएका छन्। ‘नाग पञ्चमीको दिनमा नागको फोटो किन्न प्रायः काठमाडौंका स्थानीय आउँछन्,’ उनी भन्छन्, ‘यसपटक नागको फोटो करिब तीन सयवटा तयार पारेको छु।’

Hardik ivf

किंवदन्तीअनुसार सत्ययुगमा नाग राजा पृथ्वीमा आएका थिए। पृथ्वीलाई मृत्युलोकको रूपमा चिनिथ्यो। नाग राजा आउँदा मानिसले उनलाई नराम्रो व्यवहार गरेका कारण रिसाएर फर्किएको र त्यसपछि पानी नपरेकाले उनलाई खुशी बनाउन नाग पञ्चमीमा नागको पूजा गर्न थालिएको विश्वास गरिन्छ।

‘म्याट लिठो’ नामको कागजमा उनले काठ कुँदेर बनाइएको ब्लकले नागको चित्र छाप्छन्। छापिएको चित्रलाई पाँचवटा रंग लगाएर नागको चित्र पूरा हुने उनी बताउँछन्। ‘नागलाई रातो, हरियो, पहेँलो, सेतो र नीलो रंग मात्र लगाइने गरिन्छ,’ उनी भन्छन्, ‘नागको तस्बिरमा कृष्ण भगवानको चित्र बनाउनु राम्रो होइन तर आजकल बजारमा पाइने नागको पोस्टरमा कृष्णको चित्र राखिएको हुन्छ।’ धार्मिक पुस्तकमा कतै पनि नागको पोस्टरमा कृष्ण नभएको उनको भनाइ छ। उनी भन्छन्, ‘नागको चित्र वरिपरि बिच्छी र माकुराका चित्र हुन्छन्।’

काठको ब्लक नरेन्द्रका बुवा पूर्णबहादुर चित्रकारले बनाएका हुन्। त्यही ब्लकलाई कागजमा छापेर रङ भर्ने गरेको उनले बताए। ‘बुवाले हरेक भगवानको चित्र काठमा कुँदेर बनाउनु हुन्थ्यो तर मलाई काठमा त्यस्तो चित्र बनाउन आउँदैन,’ उनी भन्छन्।

छापेको कागजमा उनले वाटर कलर लगाउँछन्। घाम र पानी पर्नासाथ कागज र रंग दुवै जाने गरेको उनी बताउँछन्। भन्छन्, ‘नागको चित्र सानो तथा ठूलो आकारमा बनाइएको छ, जसको मूल्य १० रुपैयाँदेखि ४० रुपैयाँसम्म पर्छ। बजारमा भारतबाट आएको पोस्टर पाँचदेखि १० रुपैयाँमा पाइन्छ।’

गत वर्ष २/३ सय मात्र पोस्टर बिक्री भएका कारण यसपालि पनि त्यति मात्र बनाउन लागेको हो। कोरोना सुरु भएपछि चित्र बेच्न उपत्यका बाहिर जान नपाएका कारण बिक्री कम हुने गरेको उनी बताउँछन्। भन्छन्, ‘कोरोनाभन्दा पहिले ३–४ हजार नागको पोस्टर बिक्री हुन्थ्यो। अहिले घटेको छ।’

उनी आफ्नै घरमा चित्र बनाउँछन्। यो उनको पुस्तैनी पेसा हो। उनका बुवा पूर्णबहादुरले पनि विभिन्न भगवानको चित्र बनाएर बेच्ने गर्थे। ‘हामीले सात पुस्तादेखि यही काम गर्दै आएका छौँ,’ उनी भन्छन्।

दसैंमा कालभैरव रंग्याउने, स्वयम्भुका आँखामा रङ लगाउने, मुकुण्डो बनाउने आर्टसम्बन्धी सबै काम गर्ने गरेका छन् उनले। ‘पहिला मासिक ३५–४० हजार रुपैयाँ आम्दानी हुन्थ्यो। अहिले २०/२५ हजार रुपैयाँ मात्र कमाइ हुन्छ,’ उनी भन्छन्।

२०१८ सालमा जन्मिएका हुन् चित्रकार। उनका पाँच दाजुभाइ र दुई दिदीबहिनी छन्। उनी बाबुआमाका साइँला छोरा हुन्। उनी र उनका कान्छा भाइले पुख्र्यौली पेसालाई निरन्तरता दिएका छन्। कक्षा १० सम्म दरबार हाइस्कुल पढे उनले ‘बुवाले चित्र बनाएको देखेका आधारमा १०–११ वर्षको उमेरदेखि चित्र बनाउन थालेको हुँ,’ उनी भन्छन्, ‘पुस्तैनी पेसा भएकाले मैले पनि निरन्तरता दिएँ।’

चित्रकारका अनुसार उनका बाबुले विभिन्न मठमन्दिरमा गएर चित्र कोर्ने गर्थे। उनका बाबुलाई हरेक चित्र कोर्न आउँथ्यो। उनलाई हरेक भगवान् र थाङ्का चित्र बनाउने जिम्मेवारी आउँछ। ‘कागजमा मात्र नभई मानिसको शरीरमा पनि चित्र बनाउँछु,’ उनी भन्छन्, ‘जनै खटिरा आउँदा सिंहको चित्र बनायो भने निको हुने मान्यता छ। त्यहीअनुसार खटिरा आएको ठाउँनजिकै सिंहको चित्र कोर्छु।’

नागको चित्र मात्र नभई, सेतो मच्छिन्द्रनाथ, लक्ष्मीलगायत देवी–देवताका हरेक चित्र कोर्ने गरेको उनको भनाइ छ।

धर्मग्रन्थहरूमा देवीदेवताका स्वरूपको वर्णन गरिएको हुन्छ। सोही आधारमा देवी–देवताका चित्र बनाइने गरिएको बताउँछन्। ‘नागको तस्बिर एक दिनमा ५० वटासम्म बनाउँछु,’ उनी भन्छन्, ‘काठमाडौंमा पुराना बासिन्दा खोज्दै आउने भएकाले पुराना ग्राहकका लागि हातले चित्र कोर्छु।’

उनका अनुसार भारतबाट धेरै चिल्ला पोस्टर आउँछन्। धेरै मानिस बाहिरबाटै आएको नागको पोस्टर किन्न लालायित हुन्छन्। सोही कारण हातले बनाएको पोस्टर लोभलाग्दो हुन थालेको धारणा राख्छन्। ‘विशेषगरी नाग पञ्चमीको दिनमा दूध, दुबो, तथा कपास राखेर नागको पूजा गरिन्छ,’ उनी भन्छन्।

उनका एक छोरा र एक छोरी छन्। श्रीमती र छोरीलाई चित्र बनाउन नआए पनि रङ भर्न सघाउँछन्। ‘यही पेसाले गुजारा चलिरहेको छ,’ उनी भन्छन्।


 

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्