Kathmandu Press

महाधिवेशनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, साउन २९ : आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको छ।कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान...
महाधिवेशनबारे निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, साउन २९ : आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको हो। बिहीबार कुनै निर्णय हुन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक आजलाई सारिएको थियो।

आजको बैठकमा पनि १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ। कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ।

तर, क्रियाशील सदस्यता विवादका कारण स्थानीय तहको अधिवेशन रोकिएको छ। जसले गर्दा १४औं महाधिवेशन पनि समयमै नहुने आशंका गर्न थालिएको छ।

बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले तोकिएको समयमै महाधिवेशन गर्नु पर्नेमा जोड दिएका थिए। केन्द्रीय सदस्यहरुले असोजभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने बताएका थिए।

आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

आजको बैठकमा महाधिवेशनका विषयमा निर्णय हुनसक्ने जनाइएको छ। त्यस्तै, यसअघि स्थगित गरिएको वडा अधिवेशनका विषयमा निर्णय हुनसक्ने मुख्य सचिव पौडेलले जानकारी दिए।

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्