Kathmandu Press

एमाले नेता नेपाललाई पार्टी छोडेर नजान बडालको आग्रह

एमाले नेता नेपाललाई पार्टी छोडेर नजान बडालको आग्रह

काठमाडौं, साउन २८ : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् ।

उनले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडालले भने,‘यसअघि एकताको लागि बनेको कार्यदलको दश बुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो । तपाईँले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस । ३८ वर्षसम्म तमाम दुःख गरेर तपाईँसँगै एउटै कमिटीमा बसेर काम गरेको एक जना सदस्यको रुपमा भन्न चाहन्छु–त्यस्तो गलत काम नगर्नुहोस ।’

उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरे । नेपाल लगायत नेताहरुले पार्टीको विधान र नीतिविपरित गतिविधि गरेकोले उनीहरुलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदैपनि आफूहरुले एकताको लागि कारबाही नगरेको उनको भनाई थियो ।  नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनैपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाईएको स्पष्ट पारेका छन् ।

उनले भने,‘महाधिवेशनभन्दा अघि विधान अधिवेशन गर्नैपर्छ । त्यसको लागि भदौ २७ र २८ गते विधान अधिवेशन तय भएको छ । बैशाख १० गतेसम्म महाधिवेशन गर्ने अन्तिम मिति हो । महाधिवेशन गर्न अलमल गर्ने कुरा हुँदैन् । अहिले अध्यक्ष ओली हट्ने भन्ने कुरा छैन् । तपाईँलाई अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस न माधवजी । तर, अहिले दायाँबायाँ गर्ने काम नगर्नुहोस ।’

प्रकाशित मिति: २१:२७ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्