जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, पाँच बिरामी
म्याग्दी, असार २९ : जङ्गली च्याउ खादा म्याग्दीका एक बालकको मृत्यु भएको छ भने पाँच जना बिरामी परेका छन्। मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ऋषि कुँव....

म्याग्दी, असार २९ : जङ्गली च्याउ खादा म्याग्दीका एक बालकको मृत्यु भएको छ भने पाँच जना बिरामी परेका छन्। मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका ६ जना बिरामी भएका थिए। विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकी लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछ पोखरा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले बताए। उनी राष्ट्रिय जनजागृतिमै कक्षा ६ मा अध्ययनरत थिए।
च्याउँ खादा ऋषीकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो। उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख रहेको छ।
थोरै खानेलाई सामान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ उद्धृत गर्दै राम्जालीले बताए।
त्यस्तै, बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ मा जंगली च्याउँ खादा सात जना बिरामी परेका छन्। शनिबार जङ्गलबाट ल्याएको च्याउ खाँदा ढोरपाटन नगरपालिका–२ सेराका २४ वर्षीय सुजाता थापा, उनका पाँच वर्षीय छोरा आयुष थापा, ढोरपाटन–२ सेरामा डेरा गरी बस्दै आएका ३५ वर्षीय लेखबहादुर थापा, उनकी २४ वर्षीया श्रीमती प्रेमकुमारी पुन, पाँच वर्षीय छोरा सन्दीप थापा, अध्ययनका लागि सँगै बस्दै आएका १४ वर्षीय सहिस पुन र ढोरपाटन नगरपालिका–२ तारीखेतका ५८ वर्षीया मनिकला महत बिरामी परेका हुन्।
च्याउ खाएपछि बिरामी परेका सातै जना अचेत अवस्थामा रहेको सूचनापछि तत्काल उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादवले बताए। उनीहरु सबैलाई सामान्य उपचारपश्चात थप उपचारका लागि पाल्पा पठाइएको केन्द्रका डा.कृष्ण श्रेष्ठले बताए।











