मेक्सिकन अफिमको मूल्य घट्यो, ‘पप्पी’ कृषक बसाइँँ सर्दै
दक्षिण पश्चिम मेक्सिकोमा दाजुभाइले वर्षौंसम्म अफिम खेती गरे। त्यो गरिब पहाडी क्षेत्रका अन्य कृषक पनि त्यसै गर्थे। अफिम खेतीबाट हुने नाफाले उनीहरूको जीवन केही सजिलो पक्....
दक्षिण पश्चिम मेक्सिकोमा दाजुभाइले वर्षौंसम्म अफिम खेती गरे। त्यो गरिब पहाडी क्षेत्रका अन्य कृषक पनि त्यसै गर्थे। अफिम खेतीबाट हुने नाफाले उनीहरूको जीवन केही सजिलो पक्कै भएको थियो।
उनीहरूको उत्पादन नैअमेरिकामा खपत हुने अधिकांश ‘हेराइन’को कच्चा पदार्थ थियो। तर उनीहरूको सरोकारको विषय खासै थिएन। उनीहरूलाई थाहा पनि थियो–थिएन। लागुऔषधको त्यो सुदूर बजारमा आएको परिवर्तनले सुकाएको अफिमको ‘ल्याटेक्स’ को मूल्य खस्किन थाल्यो।
‘के भयो मलाई थाहा छैन। एक्कासी भाउ घट्न थाल्यो,’ गुर्रेरो राज्यको ला मोन्ताना क्षेत्रमा पर्ने सानो बस्ती सान मिगेल एमोल्टेपेक भिएहोमा हुर्किएका १९ वर्षीय दाजु रिकार्डोले भने,‘हामीले मकै, अन्य सबै आवश्यक सामग्री, धेरै थोक किन्न सकेनौं।’
कुनै समय अफिमबाट सबैभन्दा धेरै नाफा हुन्थ्यो। तर डेढ वर्ष भयो, अफिमको मूल्य ९० प्रतिशतले घटेको छ। परिणाम: यो गाउँ र ला मोन्तानाको ढुङ्गे ढलानमा छरिएका सयौं अन्य चरम गरिबीमा धकेलिए।
तीमध्ये धेरैले उत्तरतिर बसाइँँ सर्ने मध्य अमेरिकी र अन्यको बढ्दो जनसंख्या पछ्याए। एकातिर दक्षिण पश्चिमी अमेरिकी सीमा क्षेत्रमा संकट सिर्जना भयो। अर्कोतिर मेक्सिको र ट्रम्प प्रशासनबीच जारी तनाव अझ गम्भीर बन्यो।
रिकार्डाे र उनका १७ वर्षीय भाइ तीमध्ये दुई जना हुन्। अहिले उनीहरू अमेरिकाको क्यालिफोर्नियामा ‘स्ट्रबेरी’ टिप्छन्। गैरकानूनी आप्रवासी भएकाले रिकार्डाेले पहिलो नाममात्रै खुलाउन चाहे। अफिमको माग अकस्मात ओरालो लाग्नुको कारण विचारणीय छ। तर अमेरिकामा लागुऔषधको माग र आपूर्तिमा आएको परिवर्तनसँग जोडिएको अमेरिका र मेक्सिकोका अधिकारी बताउँछन्।
‘फेन्टानिल’ एउटा शक्तिशाली र अत्यधिक लत लाग्ने ‘सिन्थेटिक ओपिएट’ हो। फेन्टानिलले विशेष गरी इस्ट कोस्टमा हेरोइन र अन्य लागुऔषध विस्थापित गरेको केही प्रमाण भेटिएको छ। पछिल्ला वर्षमा हेरोइनको आकाशिँदो उत्पादनले पनि यस्तो भएको हुनसक्छ।
सन् २०१७ मा ‘पप्पी’ खेतीले मेक्सिकोमा नयाँ कीर्तिमान बनायो। ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा पप्पी खेती ३८ प्रतिशतले बढ्यो। सोही अवधिमा हेरोइनको उत्पादन पनि समान प्रतिशतले बढ्यो। सन् २०१७ मा एक सय २२ टनभन्दा धेरै हेरोइन उत्पादन भयो। अघिल्लो वर्ष करिब ८९ टन उत्पादन भएको थियो। यसले बजारमा अत्यधिक आपूर्ति सिर्जना गरेको हुनसक्ने अधिकारी र विज्ञहरू बताउँछन्।
ला मोन्ताना क्षेत्रका बहुसंख्यक आदिवासी कृषक समुदायजिल्ल परेका छन्। त्यति धेरै नाफा कमाउने व्यवसाय अकस्मात कौडीको भाउ पुगेकोले हैरान छन्। सन् २०१७ मा बजारमा अत्यधिक मूल्य हुँदा कृषकले एक पाउन्ड अफिमको ‘रेजिन’ पाँच सय ९० अमेरिकी डलरमा बेचेका थिए। अहिले प्रति पाउन्ड ५० अमेरिकी डलरभन्दा धेरै पाइँदैन।
कुनै समय यहाँको पहाडका ढलान पप्पीका गुलाबी, बैजनी र रातो फूलले ढकमक्क हुन्थे। धुलाम्मे सतह जीवन्त देखिन्थे। अहिले त्यही ढलान बाँझो छ। गुजारा चलाउन मकै रोपिएको छ। माग अत्यधिक घट्नुको कारणबारे धेरै दुविधा फैलिएको छ। फेन्टानिलले सबैलाई अलमल्ल बनाएको छ। अफिमको रेजिनबाट अमेरिकामा खपत हुने लागुऔषध बन्ने थाहा पाएको केही स्थानीय स्वीकार्छन्।
‘चक्कीमा प्रयोग हुन्छ भनेर समाचार सुन्यौं। तर त्योभन्दा धेरै थाहा पाएनौं,’ ४३ वर्षीय डेल्फिनो मोरान रामिरेजले बताए। उनी ला मोन्ताना क्षेत्रको अर्को कृषि बस्ती आहुइसोतित्लाका सामुदायिक नेता हुन्। यो सरकारले बेवास्ता गरेको मेक्सिकोकै सबैभन्दा गरिब क्षेत्र हो।
घटेको भाउले दिएको पीडा स्थानीयले राम्ररी बुझेका छन्। ‘पप्पी खेतीले बालबच्चा स्कूल पठाएको थियो। लत्ताकपडा किन्न पुगेको थियो। अलिकति बढी पाइन्थ्यो,’ ला मोन्ताना क्षेत्रको समुदायसँग काम गर्ने मानवअधिकारवादी समूह त्लाचिनोल्लानका निर्देशक आबेल बार्रेराले भने। यसले जीवनको गुणस्तरमा साधारण सुधार ल्याएको थियो। परिवारले सातामा एक पटकभन्दा धेरै अण्डा वा मासु खान पाउँथे।
‘त्यसकारण पप्पी जादुको बोट बन्यो : यसले आर्थिक शक्ति दियो,’ बार्रेराले भने,‘गैरकानूनी बाली हो भन्ने तथ्यले खासै अर्थ राखेन।’ आम्दानी बढेपछि मानिसहरू कामको खोजिमा बसाइँँ सर्न छाडे। परिवारसँगै बस्न थाल्यो। आमाबाबुले सन्तान हुर्किएको हेर्न पाए। समुदाय बलियो हुँदै गयो। तर अफिमको आम्दानी सुकेपछि परिवारसँग बाँकी केही रहेन। उनीहरूको जीवन त्यही एउटा बालीमा निर्भर थियो।
‘मानिसहरू नाङ्गै भए,’ बार्रेराले भने। त्यसपछि ठूलो संख्यामा बसाइँ सर्न थाले। कम समयै परिवार र सामाजिक सम्बन्ध फुट्यो। ला मोन्तानाबाट बसाइँ सर्ने अधिकांशले मेक्सिकोका अन्य धनी स्थान रोजे। अरूको खेत र कारखानामा काम खोज्न थाले। कतिपय अमेरिका भासिए। विशेष गरी क्यालिफोर्नियाको कृषि समुदायमा आए। त्यहाँ गुर्रेरोका आप्रवासीले जरा गाडेका छन्। बसाइँसराइले सारा बस्ती खाली भएको छ।
संकट सुरू हुनुअघि सान मिगेल एमोल्टेपेक भिएहोमा करिब पाँच सय बासिन्दा थिए। अहिले त्यहाँ तीन सयभन्दा थोरै छन्। बसाइँ सर्नेमध्ये २० जना अमेरिका गए। उनीहरू अधिकांश युवा भएको समुदायका नेता सेल्सो सान्तियागो कायेतानोले बताए। तर कम्तिमा सिमेन्ट–ब्लकले बनेका एक तिहाई घर खाली छन्। घरमा बस्नेहरू बसाइँ सरेर अन्यत्रै छन्।
बसाइँसराइँले धेरै परिवार टुक्रिएको छ। पुरूष काम गर्न अन्यत्रै गएका छन्। घरमा बस्नेहरू उनीहरूले पठाएको पैसाले गुजारा चलाउँछन्। ‘पप्पी खेती हुँदा, कम्तिमा परिवार मिलेर खेतमा काम गर्थे,’ कायेताले भने। ला मोन्तानाको पहिलेको पप्पी समुदायमा बाँकी रहेकामध्ये अधिकांशले पनि बसाइँ सर्ने विचार गर्दैछन्।
आहुइसोतित्लाको बस्तीका २६ वर्षीय फिलिबेर्ताेले आठ वर्षसम्म पप्पी खेती गरे। एक टुक्रा जमिनमा लगाएको सो खेतीले वर्षमा थुपै्र पाउण्ड अफिमको रेजिन उत्पादन गरेको उनले बताए। त्यसबाट हुने आम्दानीले उनी आहुइसोतित्ला बसेर दुई सन्तान हुर्काउँथे। अहिले उनीहरू चार र पाँच वर्षका भए। अब उनी ‘आप्रवासीका तस्कर’को सहयोग लिएर अमेरिका जान चाहन्छन्। अगष्टमा जाने तयारी हुँदैछ।
‘मलाई जान मन छैन तर पैसा छैन। यहाँ सधैं पैसाको अभाव हुन्छ,’ उनले भने। उनले पनि पहिलो नाम मात्रै बताए। उनलाई सरकारको कारवाहीमा पर्ने डर छ।उनको १७ वर्षीय भाइ पनि अमेरिका जाने योजना बुन्दैछन्। आमा हुलियाना परिवार टुक्रिएको टुलटुलु हेर्न मात्रै सक्छिन्।
‘म उनीहरू नजाउन् भन्ने चाहन्छु तर उनीहरू जान चाहन्छन्,’ उनले भनिन्,‘दुखको कुरा यहाँ काम छैन।’ व्यापारको समयमा ताजा अफिम किन्ने खरिदकर्ता वा भरिया दिनको दुई पटकसम्म आहुइसोतित्ला आउँथे। कृषकहरू घरबाट उत्पादन लिएर भेला हुन्थे र बिक्री गर्न पहाडबाट झर्थे।
रेजिन देशभित्रै भएका साना प्रयोगशालामा ढुवानी हुन्थ्यो। त्यहाँ पुगेपछि हेरोइन बन्थ्यो र मेक्सिकोको उत्तरी सीमा तस्कर गरेर अमेरिका भित्रिन्थ्यो। आजभोलि यी भरिया कहिलेकाँही महिनाको एक पटकसम्म आउने गर्छन्।
केही समयअघि एकाबिहानै आहुइसोतित्लाको बस्तीमा वार्षिक तीन दिने चाडको अन्तिम तयारी हुँदै थियो। यो उनीहरूको ठूलो चाड हो। राम्रो समयमा बस्तीको नेतृत्वले सहभागीलाई भोज ख्वाउन चारोटासम्म गाइ दान गर्थे। यो वर्ष एउटा मात्रै व्यवस्था गर्न सके। पहिले बियरका सयौं ‘केस’ ओइरिन्थ्यो। यसपटक मात्रै ६ ‘केस’ आयो।
आर्थिक मन्दीले संघीय सरकारविरूद्ध रोष विकास भएको छ। राष्ट्रपति आन्द्रेस मानुयल ओब्रादोरविरूद्ध तिक्तता बढ्दो छ। गुर्रेरोका पप्पी कृषकलाई प्रभाव पार्ने संकट उत्पन्न भएको उनले गत अप्रिलमा स्वीकारेका थिए।
‘हामी परिस्थिति व्यवस्थापन गरिरहेका छौं,’ राष्ट्रपतिले एउटा पत्रकार सम्मेलनमा भनेका थिए,‘धेरैलाई सहयोग गरिएको छ र उनीहरू सबैलाई सहयोग गरिनेछ।’
तर ला मोन्तानावासीले आर्थिक सहयोग र बाली प्रतिस्थापन कार्यक्रम व्यवहारमा लागु नभएको बताउँछन्। पोहोर निर्वाचनमा राष्ट्रपतिको पक्षमा मतदान गरेकोमा धेरैले पछुतो मान्न थालेका छन्।
केहीले फेरि माग बढ्ने आशा गरेका छन्। फेरि मूल्य आकाशिने आशमा उनीहरूले केही पाउण्ड अफिमभेला पारेका छन्। केही विज्ञले यस्तो हुनसक्ने पनि बताएका छन्। गैरकानूनी लागुऔषध बजार अत्यधिक लचिलो हुन्छ र स्वाद बदलिरहन्छ।
यसैबीच अहिलेलाई कसरी गुजारा चलाउने त्यो नै ठूलो संघर्ष हो। बसाइँसराइ पनि तीव्र बढिरहेको छ। ‘अझ धेरै बसाइँ सर्नेछन्,’ सान मिगेल एमोल्टेपेक भिएहोका सामुदायिक नेता कायेतानोले भने। तर सुदिन फिर्नेमा उनी आशावादी छन्। उनी भन्छन्,‘प्रभुको इच्छा भए आप्रवासीहरू फर्केर आउनेछन्।’