श्वेतपत्रमा पूर्ववर्ती सरकारको आलोचना गरिएको भन्दै पूर्वअर्थमन्त्री पौडेलको असन्तुष्टि
काठमाडौं, साउन २८ : पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारद्वारा ल्याइएको श्वेतपत्रमा पूर्ववर्ती सरकारको तथ्यहीन ढंगले आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।अर्थमन्त्री जनार्दन शर्माले...काठमाडौं, साउन २८ : पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारद्वारा ल्याइएको श्वेतपत्रमा पूर्ववर्ती सरकारको तथ्यहीन ढंगले आलोचना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शीर्षकको वक्तव्यको खण्डन गर्दै पौडेलले त्यसमा मुलुकको वर्तमान आर्थिक अवस्थाबारे यथार्थ जानकारीभन्दा अघिल्लो सरकारको आलोचनामा मात्रै समेटिएको उल्लेख गरे।
श्वेतपत्रमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्यांक विभाग, महालेखालगायतका तथ्यांकलाई तोडमोड गरिनु गलत भएको उनको भनाइ थियो।
सत्तापक्ष र विपक्षमा नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थाको तथ्यांकमा कुनै विमति हुन नहुने पौडेलले स्पष्ट पारे ।
पौडेलले सामान्य स्थिति र कोभिडपछिको स्थितिबीचको तुलना गरिनु उपयुक्त नहुने उनले बताए। नेता पौडेलले तथ्यहरुलाई स्वीकार गरेर अघिल्लो सरकारले चालेका न्यायपूर्ण समाजको निर्माण र समृद्धितर्फको यात्रातर्फका कदमहरुलाई दोषारोपण नगर्न आग्रह गरे।
उनले हालसम्म सञ्चालित ठूला आयोजना र मुलुकको विकासमा सकारात्मक रुपान्तरणका लागि ल्याइएका कार्यक्रमको निरन्तरताबारे जिज्ञासा राखे।
उनले कोभिडका कारणले पछिल्ला वर्षमा आर्थिक वृद्धिदर घटेको तथ्यलाई नयाँ सरकारले बेवास्ता गरेर श्वेतपत्र ल्याएको आरोप लगाउँदै अघिल्लो सरकारले विकास खर्चका लागि ऋण लिनुपर्ने स्थितिलाई चिर्दै लिइएको ऋणलाई पूर्वाधार विकासमा प्रयोग गर्न सुझाव दिए।
अघिल्लो सरकारले आर्थिक क्षेत्रमा प्राप्त गरेका सफलतालाई वर्तमान सरकारले श्वेतपत्रमा समेट्न नसकेको पनि उनले बताए।




-1789386172.jpg)






-1789386172.jpg)