काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्यांकन : गृहमन्त्री खाँण
काठमाडौं, साउन २७ : गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएका छन्।उनले जिम्मेवारी लिने क्रममा...
काठमाडौं, साउन २७ : गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएका छन्।
उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा ‘माइनस’ हुँदै जाने पनि स्पष्ट पारे। सिंहदरबारमा बुधबार आयोजित नया गृहसचिव टेकनारायण पाण्डेको स्वागत तथा यसअघिका गृहसचिव महेश्वर न्यौपानेको बिदाइ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जनतालाई सेवा पुर्याउने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा आश्वस्त पारे।
‘जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ,’ मन्त्री खाँणले अगाडि भने, ‘कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाई आउन सक्छ।’
उनले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताए। राष्ट्रिय सुरक्षामा भने कुनै सम्झौना नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए।
क्यालेन्डर हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ शैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीसँग आग्रह गरे।
मन्त्री खाँणले कोभिड-१९को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना जिवितै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण गराए। उनले त्यो बेला अस्पतालको बेड होइन बरन्डा पनि नपाउने अवस्था आउन सक्छ भन्नेमा चिन्तित रहेको उल्लेख गरे। एक महिनाको अवधिमा मन्त्रालयका धेरै गतिविधिका बारेमा जानकारी प्राप्त भएको उनले स्मरण गरे।
समारोहमा गृहसचिव टेकनारायण पाण्डेले संयुक्त सरकारले ल्याएको साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि बढाउँदै नेपाल सरकारले चाहेको नतिजा दिने प्रतिबद्धता व्यक्त गरे।





-1789386172.jpg)





