Kathmandu Press

शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्छ  : नेता सिंह

शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्छ  : नेता सिंह

काठमाडौं, साउन २७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतिमा आधारित भएर चल्नुपर्ने बताएका छन्।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको भवन आज उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र समूहगत स्वार्थभन्दा माथि उठेर कानुन, विधि र पद्धतिमा रहेर शासन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।  

उनले सरकारले कोरोनाविरुद्धको खोपसँगसँगै भ्रष्टाचार नियन्त्रणमा पनि जोड दिनुपर्ने बताए। उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ। नाराले होइन कामले गरेर देखाउनुपर्छ। जिम्मेवार पदमा बसेकाले पहिला सुरुआत गर्नुपर्छ।’ 

उनले जनप्रतिनिधिले जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘जनप्रतिनिधिले जनतालाई विश्वासघात गर्नुहुन्न। जनता नै सर्वोपरि हो भन्ने ध्यान दिनुपर्छ।’ 

उनले जनप्रतिनिधि साझा व्यक्तित्व भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा समेत जोड दिए।

‘जनप्रतिनिधिले दलगत स्वार्थ त्यागेर काम गर्नुपर्छ। निर्वाचनमा दलको घोषणापत्र र चुनाव चिह्न लिएर निर्वाचन जानु प्रजातान्त्रिक प्रक्रिया हो तर निर्वाचित भई सकेपछि जनताको प्रतिनिधिका रुपमा अघि बढ्नुपर्छ। दलगत स्वार्थले काम गर्नुहुन्न,’ उनले भने।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा संरक्षणमा नगरपालिकाले विशेष जोड दिए पनि नगरको सडक, ढल, सरसफाइ र व्यवस्थित बसोबासमा पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्