भारतमा एकै दिनमा थपिए ३८ हजारभन्दा बढी सङ्क्रमित
नयाँ दिल्ली, साउन २७ : भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ३८ हजार ३ सय ५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण...
नयाँ दिल्ली, साउन २७ : भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ३८ हजार ३ सय ५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३ सय ५१ रहेको छ। सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो।
थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो।
पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ। योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो।
भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ३ करोड २० लाख ३६ हजार ५ सय ११ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्।
भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४ सय ९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २९ हजार १७९ पुगेको छ।
भारतमा कोरोना शुरु भएबाट हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५ सय ७ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको छ। हिजो मङ्गलबार एकै दिनमा १७ लाख ७७ हजार ९ सय ६२ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको थियो।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो। सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५१ करोड ९० लाख डोज खोप लगाइएको छ।












