Kathmandu Press

एमाले एकताको मुख्य आधार १० बुँदे सहमति : भीम आचार्य

काठमाडौं, साउन २७ : एमाले सचिव भीम आचार्यले सम्माजनक पार्टी एकताको मुख्य आधार १० बुँदे सहमति रहेको बताएका छन्।एमाले वरिष्ठ नेता माधवकुमार नेपालको...
एमाले एकताको मुख्य आधार १० बुँदे सहमति : भीम आचार्य

काठमाडौं, साउन २७ : एमाले सचिव भीम आचार्यले सम्माजनक पार्टी एकताको मुख्य आधार १० बुँदे सहमति रहेको बताएका छन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहमा आबद्ध नेता आचार्यले बुधबार ८ बुँदे अपिल जारी गर्दै त्यस्तो बताएका हुन्।

‘गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो,’ उनीद्वारा जारी अपिलमा भनिएको छ, ‘यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ।’ बिनाजालझेल, छलछाम र हिच्किचाहट सो सम्झौता लागु गर्नुपर्नेमा उनले जोड दिएका छन्।

एमाले विवाद समाधानार्थ गठित कार्यदल अहिले विघटन भइसकेको छ। तर, कार्यदलले गरेको सहमतिलाई एमाले ओली समूहका सदस्यहरू सम्मिलित केन्द्रीय कमिटीले अनुुमोदन गरेर कार्यान्वयनमा लाने भनेको छ। तथापि ओली र नेपालले आआफ्नै अडानबाट पछि नहट्दा सो सम्झौता ओझेलमा परिरहेको छ।

उनले पार्टी एकताको रक्षा गर्न सबै नेपालीलाई अपिल पनि गरेका छन्।

‘टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।

सचिव आचार्यले एकातिर गत फागुन २८ गतेबाट सरू भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहँदा अर्कातिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झन्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि भन्ने आशंका बढेर गएको उल्लेख गरेका छन्।

कसैको प्रवृत्ति पनि विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा रहेको उनको भनाइ छ।

दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति एमालेलाई फुटाउने प्रयत्न गरिरहेको आरोप उनले लगाएका छन्।

‘नेकपा एमालेका देशविदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासेजस्ता भएका छन् र विडम्बना उनीहरु नेतृत्वविहीन पनि छन्,’ आचार्यले अपिलमा उल्लेख गरेका छन्।

हाल पार्टी एकताको कुरा गर्नेमाथि आक्रमण गर्ने, निरूत्साहित, हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरू भइरहेका पनि त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुन नहुने भनाइ उनको छ।

प्रकाशित मिति: १२:३३ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्