कास्कीमा ८७ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
कास्की, साउन २७ : जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले...
कास्की, साउन २७ : जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन्।
कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिएर खोप लगाइएको कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए। एक मात्रामात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप २५ हजार जनाले लगाएका छन्। उक्त खोप २५ हजार १५० मात्रा प्राप्त भएकामा १५० खोप वैदेशिक रोजगारीमा जानेहरुका लागि लक्ष्य गरी सुरक्षित राखिएको छ ।
यसैगरी भेरोसेलको पहिलो मात्रा लगाउने ४६ हजार ५०० रहेकामा ४६ हजार ९६० ले दोस्रो मात्रा लगाइसकेका छन् । अन्यत्र पहिलो मात्रा लगाएका ४६० जनालाई पनि दोस्रो मात्रा लगाइएको थियो ।
पाँच महिनापछि कोभिशिल्डको दोस्रो मात्रा
जिल्लामा गत फागुनको अन्तिम साता कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ३२ हजारलाई पाँच महिनापछि दोस्रो मात्राको खोप दिन लागिएको छ। दोस्रो मात्राको प्रतिक्षामा रहेका ६५ वर्ष र सोभन्दा माथिका उमेर समूहका लागि अस्ट्राजेनिकाको खोप दिइने उनले जानकारी दिए।
कार्यालय प्रमुख आचार्यले भने, ‘हामीलाई अस्ट्राजेनिकाको ३२ हजार मात्रा खोप प्राप्त भइसकेको छ। अहिले भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई केही दिनमै दोस्रो डोज दिन सुरु गर्दैछौँँ ।’








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

