Kathmandu Press

प्राधिकरणमा ‘उज्यालो नेपाल अभियन्ता’को दोस्रो इनिङ

नेपाल विद्युत प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपाल अभियानका मुख्य अभियन्ता मानिन्छन्।
प्राधिकरणमा ‘उज्यालो नेपाल अभियन्ता’को दोस्रो इनिङ

काठमाडौं, साउन २७ : नेपाल विद्युत प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपाल अभियानका मुख्य अभियन्ता मानिन्छन् ।

रामेछापको बेथानमा जन्मेका हुन् घिसिङ । गाउँमै कक्षा–५ उत्तीर्ण गरेपछि परिवारले उनलाई काठमाडौं ल्यायो । काठमाडौंमै उनले आईएस्सीसम्म अध्ययन गरे । त्यसपछि छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट विद्युतीय इन्जिनियरिङ र पुल्चोक क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’मा स्नातकोत्तर गरेका हुन् । त्यसपछि पोखरा विश्वविद्यालयबाट ईएमबीए अध्ययन गरे ।

०५१ सालतिर उनी विद्युत प्राधिकरणमा सातौँ तहको इन्जिनियर भए । प्राधिकरणमा कार्यरत छँदा उनलाई रसुवाको चिलिमे जलविद्युत परियोजनाको प्रबन्ध निर्देशकको जिम्मेवारी दिइयो । चिलिमे आयोजनाको सफल कार्यान्वयनपछि उनको चर्चा चुलिएको हो ।

भदौ ०७३ मा प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी पाएपछि मुलुकलाई लोडसेडिङमुक्त गरेर देखाइदिए उनले । त्यसैले उनलाई उज्यालो नेपाल अभियानका मुख्य हर्ताकर्ता मानिन्छ ।

१४ कात्तिक ०७३ मा काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराए । र, १ चैत ०७३ देखि देशभर लोडसेडिङ अन्त्य गराए ।

आफ्नो कार्यकालमा उनले करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्न सफलता पाएका थिए ।

उनकै कार्यकालमा ६० मेगावाटको त्रिशुली थ्री–ए, चमेलिया र कुलेखानी–३ लगायत आयोजना सम्पन्न गराए ।

कोभिड–१९ महामारीका कारण निर्माण सम्पन्न हुन नसकेका विद्युत आयोजनाहरू सञ्चालनमा ल्याउने, विद्युत प्राधिकरणमा प्रणाली बसाल्ने, विद्युतको स्वदेशी खपत बढाउने र अन्तर्राष्ट्रिय व्यापारका लागि ढोका खोल्नेलगायत काम उनको पछिल्लो कार्यकालका अपेक्षित उपलब्धी हुन सक्छन् ।

प्रकाशित मिति: १०:४५ बजे, बुधबार, साउन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्