Kathmandu Press

सिरहामा बाँध भत्किएर बाढी गाउँ पस्यो, एक हजार घरपरिवार विस्थापित

लहान, असार २८ : अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा ड....

सिरहामा बाँध भत्किएर बाढी गाउँ पस्यो, एक हजार घरपरिवार विस्थापित

लहान, असार २८ : अविरल वर्षासँगै कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन्।

डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका–१२ स्थित सारस्वर, वडा नं ६ स्थित बसबिट्टा र कल्याणपुर–१२ गम्हरियाकट्टीलगायतका अधिकांश ठाउँ डुबानमा परेका छन्। 

गाउँमा जलस्तर बढ्दै गएको र गाउँगाउँमा सडक भत्किएका कारण स्थानीयवासीलाई उद्धार गर्न समस्या भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए। कमला नदीको बाढी सदरमुकाममा समेत पसेपछि जिल्ला प्रहरी कार्यालय, तत्कालीन कृषि विकास कार्यलय, पशु सेवा कार्यालय, विद्युत् प्राधिकरणलगायतका अधिकांश कार्यालय डुबानमा परेका छन्।

यस्तै लहान नगरपालिकाका विभिन्न वडामा आएको बाढीले १०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। लहानका वडा नं १, २, ३ र ४ का अधिकांश घर डुबानमा छन्। वडा नं १ र २ का ८० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने वडा नं ४ मा आएको बाढीले घर भत्किँदा तीन घाइते भएका छन्।
लहानस्थित इलाका प्रहरी कार्यालय, डिभिजनल वन कार्यालय, लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, जलस्रोत कार्यालय, भू–संरक्षणलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् भने पुर्वपश्चिम राजमार्गबाटै पानी बगिरहेकाले यातायात आवागमनमा समस्या भएको छ। 

त्यस्तै, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिकालगायतका स्थानीय तहका अधिकांश वडासमेत जलमग्न भएका प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित बस्तीमा सुरक्षाकर्मी परिचालन गरी उद्धारकार्यलाई जारी राखेको प्रअिज अधिकारीले बताए।

लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर बढ्ने क्रम जारी रहेकाले नदी आसपासका आम सर्वसाधारणहरुमा सचेत गरिएको छ भने सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिए। 

बाढीमा फसेका ६ कामदारको उद्धारमा कठिनाइ

कमला नदीको बाढीमा गए रातिदेखि फसेका ६ जनाको उद्धारमा समस्या भएको छ। सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोल नजिकै निर्माणाधीन पुलको काममा खटिएका छ  कामदार कमला नदीको बाढीमा फसेका हुन्।

निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका छ जनालाई नदीमा पानीको बहाब अत्यधिक रहेकाले उद्धार गर्न कठिनाइ भएको सिरहाका प्रजिअ  अधिकारीले जानकारी दिए। उनले भने,“६ कामदार बाढीमा फसेको राति नै खबर आयो, तर नदीमा पानीको बहाब बढिरहेकाले तत्काल उद्धार गर्न समस्या भएको छ, काठमाडौँबाट हेलिकोप्टरसमेत आउन नसक्ने अवस्था छ।”

प्रकाशित मिति: १२:०६ बजे, शनिबार, असार २८, २०७६