Kathmandu Press

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन

काठमाडौं, असार २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाढी पहिरो पीडितको उद्दार राहतको काममा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन द....

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन

काठमाडौं, असार २८ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाढी पहिरो पीडितको उद्दार राहतको काममा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। 

शनिबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति निकालेर बाढीपहिरो पीडितहरुको उद्धार र राहतको काममा सक्रियतापूर्वक जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। 

बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ भने अहिलेसम्म २१ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। नेकपाले अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख पनि व्यक्त गरेको छ।

‘दुःखको यो घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने दिदी–बहिनी तथा दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, यसक्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,’ अध्यक्षद्वयले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

नेकपाले बाढी र पहिरो पीडितहरुको उद्धार र राहत कार्यमा सरकारले आवश्यक काम पनि गरिरहेको जनाएको छ।
 

प्रकाशित मिति: ११:५० बजे, शनिबार, असार २८, २०७६