Kathmandu Press

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

काठमाडौं, साउन २६ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ। आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन्।

अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढेको बताए। उनका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको सो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिनेछ।

बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले रु २० हजारदेखि पाँच लाखसम्मको क्रेडिट लिमिट ग्राहकलाई दिन सकिने जानकारी दिए। उनका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन्। बैंकले हाल ७७ जिल्लामा २४७ शाखा कार्यालय, २०९ एटिएम र ९८ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रवाह गर्दै आएको छ।
 

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, साउन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्