सरकारले साझा न्यूनतम कार्यक्रम संसद् छलेर ल्याएको ओलीको आरोप
प्रतिनिधिसभामा विपक्षी दलका नेता केपी ओलीले सरकारले साझा न्यूनतम कार्यक्रम संसदलाई छलेर ल्याएको आरोप लगाएका छन्।
काठमाडौं, साउन २६ : प्रतिनिधिसभामा विपक्षी दलका नेता केपी ओलीले सरकारले साझा न्यूनतम कार्यक्रम संसदलाई छलेर ल्याएको आरोप लगाएका छन् ।
संसद अधिवेशन चालू रहेको अवस्थामा नीति तथा कार्यक्रम संसद छलेर ल्याइएको उनको दाबी थियो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्ना धारणा राख्दै ओलीले आफ्ना पालामा संसद छलेको आरोप लगाइने गरेको तर वर्तमान सरकारले पनि संसदलाई छलेको उनको आरोप छ । संसदमा एकजनाले मात्र प्रस्तुत गर्नुपर्ने भएकाले र सबै नेताको तस्बिर नआउने भएकाले बाहिरै बसेर साझा न्यूनतम कार्यक्रम घोषणा गरिएको हुन सक्ने उनको आकलन थियो ।
संयुक्त साझा भनिएको सरकारको कार्यक्रममा नेपाली कांग्रेसको अनुहार आफूले नभेटेको उनको भनाइ थियो ।
न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय नसमेटिएकामा उनले असन्तुष्टि व्यक्त गरे । एमसीसीसम्बन्धी सभामुखको टेबलमै भएकाले सदनमा प्रस्तुत गर्न अनुरोध गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे । उनले भने, ‘खै त मैले एमसीसी देखिन त । केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्दै हुनुहुन्छ ।’
एक सय ६५ सांसदको समर्थनप्राप्त सरकारलाई एमसीसी पारित गर्न समस्या नभएको बताउँदै उनले व्यंग्य गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नाम नलिई उनले सदनबाट विपक्षीलाई आगो बाल्छु भन्दै धम्की दिइएको उनले बताए । र, विगतमा माओवादीको सशस्त्र विद्रोहको आगोलाई दुई बाल्टी पानी खन्याएर निभाइएको उनले दाबी गरे ।
‘यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ पानी । सरकार बन्दैछ तर धम्की दिने ? म आगो हुँ भनेर, मसँग नखेल भनेर धम्की दिने ?’ ओलीले भने, ‘सडकमा एउटा कागज वितरण गरेको छ । प्रतिपक्षलाई गाली गरेर, सरापेर कस्तो राष्ट्रिय सहमति बन्छ ? प्रतिपक्षलाई धम्की दिएर राष्ट्रिय सहमति नत्र भन्छन् नत्र के गर्छन् ? हामी पनि हेरौँला ।’
आफू आगामी निर्वाचनबाट मुल ढोकाबाट फेरि सत्तामा पुग्ने ओलीको दाबी छ । एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नगरेर सरकारले समय खेर फालेको उनको भनाइ थियो ।



-1789461333.png)




-1789461333.png)


