वन विनाश र जलवायु परिवर्तनले वन्यजन्तु नै लोप हुने खतरामा
उष्ण जंगलको व्यापक फडानीसँगै जलवायु परिवर्तनले वन्यजीवको जीवनरक्षा गर्ने चिसो मौसम हराउँदै गएको छ।
नेचर क्लाइमेट चेञ्ज जर्नलमा प्रकाशित प्रतिवेदनमा यही कारणल....
उष्ण जंगलको व्यापक फडानीसँगै जलवायु परिवर्तनले वन्यजीवको जीवनरक्षा गर्ने चिसो मौसम हराउँदै गएको छ।
नेचर क्लाइमेट चेञ्ज जर्नलमा प्रकाशित प्रतिवेदनमा यही कारणले वन्यजीव लोप हुने जोखिम बढेको अनुसन्धाताले बताएका छन्। ल्याटिन अमेरिका, एसिया र अफ्रिकाको जंगलको पाँचमध्ये दुई भागभन्दा कम क्षेत्रमा मात्रै अत्यधिक तापक्रम बढ्ने सम्भावना नभएको उनीहरूले उल्लेख गरेका छन्।
‘सन् २००० देखि २०१२ सम्म भारतभन्दा ठूलो क्षेत्रफलको उष्ण जंगल मासिएको छ। जलवायु परिवर्तनको प्रभावबाट जीवजन्तुका प्रजातिलाई सुरक्षा दिने क्षमता गुमेको छ,’ प्रतिवेदनकी मुख्य लेखक रेबेक्का सिनियरले भनिन्। उनी युनिभर्सिटी अफ शेफिल्डकी प्राध्यापक हुन्।
वनविनाशले वन्यजन्तुको प्राकृतिक वासस्थान प्रत्यक्ष गुम्ने मात्रै नभएर उनीहरूको विचरणमा पनि कठिनाइ उत्पन्न हुन्छ। चिसो वासस्थान जाने विकल्प नभएपछि जोखिममा रहेका प्रजाति राष्ट्रिय तथा विश्वस्तरबाटै लोप हुने उनले बताइन्।
वर्तमान जलवायु परिवर्तन दर अनुसार अहिले तापक्रमको कम प्रभाव भएका क्षेत्रमा फैलिरहेका पशु र वनस्पतिले सन् २०७० सम्म २० औं शताब्दीको मध्यभन्दा औसत २.७ डिग्री तातो वातावरण सहनुपर्ने अध्ययनले पत्ता लगाएको छ।
‘ग्लोबल वार्मिङ’लाई दुई डिग्रीमा मात्रै सीमित राखेपनि उष्ण क्षेत्रका प्रजातिले त्यतिबेलासम्म ०.८ डिग्री तापक्रम वृद्धि अनुभव गर्नेछन्। तर यसको सम्भावना कम हुँदै गएको छ। सन् २०१५ को जलवायुसम्बन्धी पेरिस सन्धि अन्तर्गत ग्लोबल वार्मिङलाई दुई डिग्रीभन्दा बढ्न नदिने सदस्य राष्ट्रले सहमति जनाएका छन्।
संयुक्त राष्ट्र संघको जलवायु विज्ञान ‘प्यानल’ले यो सीमाले पनि कम गहिराइमा पाइने ‘कोरल रिफ’को विनाशजस्ता गम्भीर प्रभाव रोकथाम गर्न नसक्ने पोहोर जनाएको छ।
औद्योगिक क्रान्तिपछि एक डिग्रीको तापक्रम वृद्धिले पनि ‘हिट वेभ’, सुख्खा र उष्ण आँधीको आवृत्ति बढाएको छ।
जलवायुमा परिर्वन हुदाँ पशु र वनस्पति सधैं पहाडको तल र माथि, ध्रुवभन्दा नजिक वा टाढा वा न्यानो वा चिसो पानीतर्फ गएका छन्। तर जलवायु परिवर्तन यति तीव्र विरलै भएको थियो। यसलाई वासस्थानको अत्यधिक विखण्डनसँग पनि कहिल्यै जोडिएन।
‘उष्ण क्षेत्रका प्रजाति तापक्रम परिवर्तनप्रति विशेष संवेदनशील छन्,’ सिनियरले भनिन्,‘अधिकांश पृथ्वीबाहेक कहि पाइँदैनन्। विश्वको जैविक विविधताको ठूलो भाग पनि उनीहरूकै छ।’
बढ्दो तापक्रमले वनस्पति र जीवलाई कसरी प्रभाव पारेको छ भनेर विभिन्न अध्ययनले देखाइसकेको छ। उनीहरूले खाना संकलन, प्रजनन वा दुवै क्षमता सिमित बनाउने व्यवहार अवलम्बन गरेका छन्।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा सुख्खा र चर्काे तापक्रमको जोखिममा रहेका करिब साढे पाँच सय प्रजाति सूचिकृत छन्। तीमध्ये आधाभन्दा धेरै लोप हुने खतरामा छन्। सूचिकृत प्रजातिमा ‘रेड–ह्यान्डेड हाउलर’ बाँदर, ‘जेगुअर’ र ‘जायन्ट अट्टर’जस्ता स्तनधारी छन्। रहस्यमयी ‘प्याथोजेन’को आक्रमणमा परेका उभयचर विशेष जोखिममा छन्।
‘उनीहरू विशिष्ट वासस्थानमा मात्रै पाइन्छन्। टाढा जान सक्दैनन् र अत्यधिक ताप र सुख्खाप्रति अत्यन्तै संवेदनशील छन्,’ सिनियरले भनिन्,‘यो अर्काे असफलता हो।’ उच्च तापक्रमले उष्ण क्षेत्रको ‘हमिङ बर्ड’ लाई खाना खोज्नेभन्दा छायाँमा जान बाध्य बनाउँछ। यसले परिवर्तित वातावरण अनुकूल हुने उनीहरूको क्षमता परीक्षण गर्दछ।
अन्य अनुसन्धानले वनविनाश र विखण्डनले जीवजन्तुका प्रजाति घटेको वा हराएको अभिलेख राखेको छ। ती क्षेत्रमा तेलका लागि ताडिको रूख र जैविक इन्धन दिने बाली रोपिएका छन्। वस्तुभाउ पालिएका छन् र उनीहरूलाई ख्वाउन भटमास लगाइएको छ।
युनिभर्सिटी अफ म्यारिल्यान्डको अनुसन्धान एकाई ग्लोबल फोरेस्ट वाचले जनाए अनुसार सन् २०१४ यता बेलायतभन्दा पाँच गुणा ठूलो क्षेत्रफल भएको करिब ६ लाख वर्ग किलोमिटर उष्ण जंगल मासिएको छ।
विश्वस्तरमा उष्ण क्षेत्रको बासस्थान विनाश र जलवायु परिवर्तनको अन्तर्क्रिया अनुसन्धान गर्ने नयाँ अध्ययन एक दशकभन्दा लामो समययताकै पहिलो अध्ययन हो।