Kathmandu Press

अझै तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार २७ : बिहीबार साँझदेखि भइरहेको वर्षा अझै तीन दिन जारी रहने भएको छ। 

न्यूनचापीय रेखा नेपाल प्रवेश गरेकाले देशभर वर्षा....

अझै तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह
रिवाज राई

काठमाडौं, असार २७ : बिहीबार साँझदेखि भइरहेको वर्षा अझै तीन दिन जारी रहने भएको छ। 

न्यूनचापीय रेखा नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको र अझै केही दिन जारी रहने जल तथा मौसम अनुमान महाशाखाले जनाएको छ।

न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्। उनका अनुसार आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ। 

उनले भारी वर्षाका कारण बाढी, पहिरोको उच्च जोखिम बढ्ने भएकाले उच्च सतर्कता उपनाउन आग्रह गरिन्। विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ। खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहने बताइएको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ। खास गरी प्रदेश नम्बर १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ। त्यस्तै, पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ। 
 

प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, असार २७, २०७६