Kathmandu Press

मन्त्रिपरिषद्का सात निर्णयः कृषि मन्त्रालयको सचिवमा शर्माको बढुवा

सरकारले सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।
मन्त्रिपरिषद्का सात निर्णयः कृषि मन्त्रालयको सचिवमा शर्माको बढुवा

काठमाडौं, साउन २५ : सरकारले सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।

‘नेपाल कृषि तथा वन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिसअनुसार गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ,’ सोमबारको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने ।

यस्तै, सरकारले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षत्री छन् ।

सरकारले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सबै प्रदेशका कर्मचारीका लागि १ साउनदेखि नयाँ तलबमान स्वीकृत गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्ले माथिल्लो त्रिशुली थ्री ए आयोजनाका लागि जग्गाप्राप्ति गर्न र प्रारम्भिक कारवाही चलाउन सोही आयोजनाका प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई अधिकारी तोकेको छ ।

यसैगरी, ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाइएको छ । ‘विशेष आर्थिक क्षेत्र नियमावली, २०७८’ छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाइएको छ । र, ‘सैनिक सेवा चौथो संशोधन नियमावली, २०७८’ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाइएको छ ।

प्रकाशित मिति: १७:२६ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्