टेलिकमले ल्यायाे एसइई उत्तीर्ण विद्यार्थीका लागि अफर
काठमाडौं, साउन २५ : नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीका लागि निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस अफर सार्वजनिक गरेको छ।गत वर्ष पनि...
काठमाडौं, साउन २५ : नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीका लागि निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस अफर सार्वजनिक गरेको छ।
गत वर्ष पनि टेलिकमले यस्तो अफर ल्याएको थियो। टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ। जसमा ३० दिनसम्म प्रतिदिन १०० एमबी डाटा (कुल ३० जिबी), १० मिनेट कल (टेलिकम-टेलिकम कुरा गर्न कुल ३०० मिनेट) र १० एसएमएस (कुल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए।
सो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकेजसमेत उपलब्ध हुने उनले बताए। सो प्याकमा रु ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ। सो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ। बोनसबापत यसरी प्राप्त हुने सुविधा तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
एसइईका विद्यार्थीका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रूपमा रुपान्तरण गरिएको सिम कार्डमा आवश्यकताबमोजिम ई-शिक्षा प्याकेजसमेत लिन सकिनेछ।
यसअघि ई-शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएको छ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने रु १० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्। सो बाहेक ४० मिनेट टक टाइम, २० वटा एसएमएस र ६० एमबी डाटा हितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने जनाइएको छ।
एसइई उत्तीर्ण विद्यार्थीले नयाँ सिमका लागि १० कक्षाको कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचयपत्रको फोटोकपी संलग्न गरद्दी फाराम भर्नुपर्नेछ।










-1789453539.jpg)
