Kathmandu Press

एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्यकाे व्यवस्था नराखिने

कार्यालय सचिव शेरबहादुर तामाङले पारित प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने बताए।
एमालेमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्यकाे व्यवस्था नराखिने

काठमाडौं, साउन २५ : एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । 

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए। 

पार्टीले उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो। 

कार्यालय सचिव शेरबहादुर तामाङले पारित प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने बताए। उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। 

कार्यालय सचिव तामाङले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए। 

यसैगरी केन्द्रीय कमिटी सदस्यको सङ्ख्या पनि बढाउने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उनले जानकारी दिए। पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने पारित विधानमा उल्लेख छ। 

स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ। यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङले जानकारी दिए। उनले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने बताए। (रासस)

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्