Kathmandu Press

वर्षा प्रभावित क्षेत्रमा राहत र उद्धारको काम सुरू: गृह मन्त्रालय

काठमाडौं, असार २७ : गृह मन्त्रालयले देशभरका वर्षा प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम सुरु गरिएको जनाएको छ।  

स्थानीय तह र प्....

वर्षा प्रभावित क्षेत्रमा राहत र उद्धारको काम सुरू: गृह मन्त्रालय

काठमाडौं, असार २७ : गृह मन्त्रालयले देशभरका वर्षा प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काम सुरु गरिएको जनाएको छ।  

स्थानीय तह र प्रदेशमा रहेका गण, गुल्म र विपद व्यवस्थापन समितिले अहिले बाढी र पहिरोमा परेकाहरूको उद्दार गर्ने काम गरिरहेको मन्त्रालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले प्रहरीले प्रभावित क्षेत्रमा घाइते भएकाहरुलाई अस्पताल पुर्‍याउने, खोलामा बगेकाहरुको खोजी कार्य गर्नेदेखि उद्धारकाे काममा खटिएको जानकारी दिए।

स्थानीय तहकै जनशक्ति परिचालन भएकाले केन्द्रबाट सुरक्षाकर्मी पठाउने काम नभएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए। अहिले थप सुरक्षाका लागि सुरक्षाकर्मीको माग नभएकाले केन्द्रबाट प्रहरी खटाउनु नपरेको उनले बताए। लगातारको वर्षाको प्रभाव सबैभन्दा बढी पूर्वी पहाडी  र तराईका क्षेत्रमा रहेको गृह मन्त्रालयले जनाएको छ। 

वर्षाबाट काभ्रे, पाँचथर,ओखलढुंगा, सिन्धुली, रामेछाप, भोजपुर, मकवानपुर, सिराहा, सप्तरी, धनुषा बढी प्रभावित बनेका छन्। यी ठाउँमा कति धनजनको क्षति भयो भन्नेबारे एकीन तथ्या‌ंक अझै आउन सकेको छैन। 

यसैबीच, गृह मन्त्रालयले  वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्क हुन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म वर्षा जारी रहने अनुमान गरेकाले सर्तकता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको हो।

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, असार २७, २०७६