Kathmandu Press

को हुन् कामु प्रधानसेनापति प्रभुराम शर्मा ?

काठमाडौं, साउन २५ : नेपाली सेनामा प्रधानसेनापतिले अनिवार्य अवकाशभन्दा एकमहिनाअगावै बिदा बस्ने परम्परा छ।तदनुरुप भदौ २५ गतेदेखि आवकाश पाउन लागेका प्रधाननसेनापति पूर्णचन्द्र थापा आजबाट...
को हुन् कामु प्रधानसेनापति प्रभुराम शर्मा ?

काठमाडौं, साउन २५ : नेपाली सेनामा प्रधानसेनापतिले अनिवार्य अवकाशभन्दा एकमहिनाअगावै बिदा बस्ने परम्परा छ।

तदनुरुप भदौ २५ गतेदेखि आवकाश पाउन लागेका प्रधाननसेनापति पूर्णचन्द्र थापा आजबाट बिदामा बसेका छन्।

बिदा बस्नुअघि सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रमबीच प्रधानसेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई संगठनको कमान्ड हस्तान्तरण गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मंगलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेकी छन्। भदौ २५ मा थापाले अवकाश पाए लगत्तै शर्मा ४४औं प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हाल्नेछन्।

बलाधिकृत रथी शर्माले स्वदेशमा सेनाका सबै व्यावसायिक तालिम प्राप्त गरिसकेका छन्। त्यसका अलावा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन्।
  
सेनाको अपरेसनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन्।
 
आफ्नो ३७ वर्षे सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जंगी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सहबलाध्यक्ष, सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका शर्माले नेपाली सेनाको हरेक जिम्मेवारीबारे नजिकबाट अनुभव र ज्ञान बटुलेका छन्।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमान्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका थिए।
 
बंगलादेशमा सैनिक सहचारीको कार्यभार उदाहरणीय रूपमा सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ।
 
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका शर्माले नेपालको मात्र नभएर विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गरेका छन्।

सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमताका लागि परिचित रथी शर्माको मुख्य प्राथमिकता कोभिड–१९ का कारण प्रभावित तालिमलाई सञ्चालन बनाई सेनाको अपरेसनल क्षमतालाई अभिवृद्धि गर्नु रहेको छ ।

भर्खरै लागू भएको सेनाको तीन जोड एक अवधारणाअनुसारको पुनःसंरचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउनु पनि उनको प्रमुख कार्यभर रहनेछ । पूर्वप्रधानसेनापतिले सुरु गरेका असल कार्यक्रमको प्रभावकारिताको मूल्याङ्कन गर्दै निरन्तरता दिने र संस्थागत गर्न पनि उनले ध्यान केन्द्रित गर्नुपर्नेछ।

संगठनभित्र सकल दर्जामा हौसला अभिवृद्धि र सैनिक परिवारको कल्याण कार्य पनि कायममुकायम प्रधानसेनापति शर्माका प्राथमिकताका क्षेत्र हुन्।

२०२० पुस २१ गते जन्मिएका शर्मा काठमाडौंको सीतापाइलाका बासिन्दा हुन्। उनले पुरानो गोरखगणबाट अधिकृत स्तरबाट ३७ वर्षअघि सैनिक सेवा सुरु गरेका हुन्। 

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्