जसपा लुम्बिनीका तीन सांसदको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले जसपाका लुम्बिनी प्रदेशका तीनजना सांसदको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
काठमाडौं, साउन २५ : सर्वोच्च अदालतले जसपाका लुम्बिनी प्रदेशका तीनजना सांसदको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
पार्टी निर्देशनविपरीत प्रदेश सरकारमा मन्त्री रहिरहेपछि उनीहरू १५ साउनमा बर्खास्त भएका थिए । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनीहरूको बर्खास्ती कायम रहेको छ ।
सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयले त्यसलगत्तै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार कारण देखाउ आदेश जारी गरेको छ ।
उनीहरूमाथि गरिएको कारवाही कायम रहेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल स्पष्ट अल्पमतमा परेका छन् । उनीविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न २७ साउनमा विशेष अधिवेशन आह्वान गरिएको छ ।
विशेष अधिवेशन स्थगित गर्न आदेश माग गर्दै सर्वोच्चमा दायर गरिएको रिट पनि आइतबार दरपिठ भएको छ ।











