तालिबानीले अर्को प्रान्तीय राजधानी कब्जा गरेको दाबी
अफगानस्तान, साउन २४ : अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरुको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ।योसमेत गरी उनीहरुले...
अफगानस्तान, साउन २४ : अफगानिस्तानमा विद्रोह गरिरहेको तालिबान लडाकूहरुको समूहले अफगानिस्तानमा अर्को एक प्रान्तीय राजधानी पनि कब्जा गरिएको दाबी गरेको छ।
योसमेत गरी उनीहरुले अफागानिस्तानमा तेस्रो प्रान्तीय राजधानी कब्जा गरेका छन्। तर सो क्षेत्रमा तालिबानी र अफगान सेनाबीच भीषण भिडन्त भने जारी नै रहेको छ।
पछिल्लो तीन दिनमा तीन प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको लडाकूहरुले आइतबार दाबी गरेका छन्।
लडाकूहरुले देशको कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन्। सरकारी सुरक्षाकर्मीहरुसँगको लडाइँ अहिले पनि जारी रहेको पनि उनीहरुले बताएका छन्।
उनीहरुले कुन्दुज प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
तालिबान लडाकूहरुले यसअघि शबरगान र निम्रोज प्रान्तीय राजधानीहरु नियन्त्रणमा लिइएको दाबी गरेका थिए।
सुरुमा गत शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निम्रोजको राजधानी जारान्ज कब्जामा लिएको र त्यसपछि उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान सहर आफ्नो नियन्त्रणमा आएको तालिबानले जनाएको छ।
पश्चिमको हेरात, दक्षिणको कान्दाहार र लस्कर गाहसहितका प्रमुख सहर पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिबानको रणनीति रहेको तालिबान समूहका एक कमाण्डरले बताएका छन्।
अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिबान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ।
यद्यपि अफगानिस्तानको रक्षामन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने बताएका छन्। तालिबान समूहले प्रान्तीय सहरलाई आफ्नो नियन्त्रणमा ल्याएको घोषणा सरकारी सुरक्षाबलका लागि ठूलो धक्काका रुपमा लिइएको छ।












