Kathmandu Press

साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

सोलुखुम्बु, साउन २४ : छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। जिल्लाको थुलुङ दूधकोशी–३...
साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

सोलुखुम्बु, साउन २४ : छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो।

नेपाल धितोपत्र बोर्डबबाट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता शेयर निष्कासन गर्ने जनाएको छ। सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ। उक्त समयमा खुला गरिएको शेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।

कम्पनीले प्रतिशेयर रु १०० मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिए। उनका अनुुसार ग्लोबल आइएमई बैंक सल्लेरी, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ्रे बैंक सल्लेरी र प्राइम कमर्शियल बैंक रमिते शाखाबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने अध्यक्ष पाठकले बताए।

आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर रु तीन अर्ब ५० करोड पुग्ने छ। उक्त आयोजना रु ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा नौ बैंकले रु आठ अर्ब ६५ करोड ऋण लगानी गरेका छन्।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र थुलुङ दूधकोशी–१ नेलेमा पर्ने सोलुखोलामा ड्याम निर्माण गरी सुरुङमार्गमार्फत थुलुङदूधकोशी–३ पञ्चनमा विद्युतगृह निर्माण गरिँदैछ। निर्माण कम्पनीका अनुसार अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। 

सोलुखोलामा २३.५ मेगावाट क्षमताको माथिल्लो सोलुखोला निर्माण सम्पन्न भएर उत्पादन शुरु भएको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत् आयोजना, १९.५ मेगावटमा बेनी हाइड्रोपावर प्रोजक्टको काम पनि अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएका छन्। यद्यपि ती कम्पनीले साधरण शेयर भने वितरण गरेका छैनन्। रासस
 

प्रकाशित मिति: ११:४६ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्