परमाणुसम्बन्धी वार्तामा फर्कन इरानलाई अमेरिकाको आग्रह
वासिङ्टन, साउन २२ : अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ। इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै...
वासिङ्टन, साउन २२ : अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ।
इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिनुभएको समाचारमा जनाइएको छ।
सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौताअनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा इरानले आफ्ना केही परमाणु कार्यक्रम रोकेको थियो। अहिले फेरि त्यसलाई निरन्तरता दिन अमेरिकाले इरानलाई आग्रह गरेको हो।
बिहीबार पद सम्हालेपछि इरानी राष्ट्रपति रायसीले पनि देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने आशय व्यक्त गरेका थिए।
इरानका नयाँ राष्ट्रपतिको आशय र अमेरिकाको आग्रह मिल्दो जुल्दो भएकाले दुई देशको सम्बन्ध सकारात्मक दिशातर्फ उन्मुख हुन सक्ने अपेक्षा गरिएको छ। यसअघि सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरूलाई निरन्तरता दिनुभएको थियो। त्यसपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो।
पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउने गरेका छन् भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ। इरानी नयाँ राष्ट्रपति रायसीले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कुनै पनि कूटनीतिक प्रयासहरु आफूले गर्ने बताउनुभएको थियो।
सम्बन्ध सुधार गर्न र सम्झौतालाई पुनर्जीवित गर्न अस्ट्रियाको राजधानी भियानामा केही समयदेखि वार्ता भइरहेपनि नतिजा आउन सकेको छैन तर प्रयास भने गरिरहने उहाँले बताउनुभएको छ।












