वन्यजन्तुका आखेटोपहारसहित एक महिला पक्राउ

काठमाडौं, साउन २१ : संरक्षित वन्यजन्तुकाे आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो।
संरक्षित वन्यजन्तु अवैध रूपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले यहाँस्थित रातमाटेबाट उनलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनका अनुसार लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ। उनलाई आवश्यक कानुुनी कारबाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्युुरोले आज एक सूचना जारी गरी जनाएको छ।
कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुनेछ।











