Kathmandu Press

ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित

झापा, साउन २२ : धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन्। ड्रायर मेशिन भित्रिएपछि चैते...
ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित
फाइल फोटो

झापा, साउन २२ : धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन्। ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ (यताउता लान÷सार्न मिल्ने) ड्रायर मेशिन प्रदान गरिएको छ। संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेशिन पाएपछि धान सुकाउन सहज भएको बताए।

उनले भने, 'चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ। यो पटक धानको भाउ घटेर प्रतिमत पाँच सयमा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई÷तीन महिनापछि रु एक हजार सहजै पाउन सकिन्छ।'

झापामा चैते धानका लागि ड्रायर मेशिनको धेरै आवश्यक रहेको उनको भनाइ छ। समूहअन्तर्गत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन्। 'कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती सुरु गरेका हौँ,' उनले भने, 'जग्गाअनुसार धान दिने र काम गर्ने कृषकले ज्यालासमेत पाउनुहुन्छ।' गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईंले बताए।

गौरादह–५ कै कृषक अर्जुन खतिवडा वर्षा–झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताए। धानको संरक्षण र भण्डारण गर्न सक्दा बजार भाउ नपाइने उनले बताए। उनले भने, 'धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ।'

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न सकिँदैन त्यसैले सस्तो–महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन्।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेशिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिए।

परियोजना कार्यान्वयन एकाइले ड्रायर मेशिनका लागि २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि २० लाख अनुदान दिएको हो। उक्त ड्रायर मेशिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ। (रासस)

प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्