Kathmandu Press

संक्रमण नभएपछि हुम्लामा खुल्न थाले विद्यालय

हुम्ला, साउन २२ : कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन्।ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका...
संक्रमण नभएपछि हुम्लामा खुल्न थाले विद्यालय

हुम्ला, साउन २२ : कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन्।

ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन्। बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन्।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले बताए।

'हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ’, उनले भने। कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ छ।

लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए। अदानचुलीमा १८ वटा सामुदायिक विद्यालय छन्।

ताँजाकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ। सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जनाएको छ।

यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने भन्ने अन्योल कायमै छ। (रासस)

प्रकाशित मिति: ०७:१० बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्