Kathmandu Press

कोभिड १९ : बेलायतमा नेपालीलाई लगाइएको यात्रा प्रतिबन्ध यथावत

कोभिड १९ : बेलायतमा नेपालीलाई लगाइएको यात्रा प्रतिबन्ध यथावत

काठमाडौं, साउन २१ : कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालीलाई लगाइएको यात्रा प्रतिबन्ध बेलायतले यथावत राखेको छ।

बिहीबार सार्वजनिक गरेको नयाँ कोरोना प्रोटोकलमा बेलायतले नेपाललाई ‘रेड लिस्ट’मा राख्दै यात्रा प्रतिबन्ध यथावत राखेको हो। यस्तै, बेलायतले छिमेकी राष्ट्रमाथि लगाएको यात्रा प्रतिबन्ध भने फुकुवा गरेको छ।

अगामी आइतबारदेखि भारतीय नागरिकले बेलायत यात्रा गर्न पाउने छन्। तर, बेलायत जाने भारतीयले १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। यस्तै, दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ। यता, संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ।

आबुधावीस्थित नेपाली दूतावासका अनुसार युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

यस्तै, स्वीट्जल्यान्डले पनि अगस्ट ४ देखि नेपालीको लागि यात्रा अनुमति खुला गर्ने तयारी गरेको छ। वैधानिक भिसामार्फत् यात्रा गर्ने नेपालीले क्वारेन्टिन बस्नुपर्ने छैन। तर, खोप भने अनिवार्य लगाउनुपर्नेछ।

प्रकाशित मिति: १८:५३ बजे, बिहीबार, साउन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्