आसाम र मिजोरमको सीमा विवाद सुल्झाउन सहमति
पछिल्लो समय चर्चामा रहेको भारतका आसाम र मिजोरमको सीमा विवाद सुल्झाउन दुवै प्रदेशका अधिकारीहरू सहमत भएका छन्।
गुवाहाटी, साउन २१ : पछिल्लो समय चर्चामा रहेको भारतका आसाम र मिजोरमको सीमा विवाद सुल्झाउन दुवै प्रदेशका अधिकारीहरू सहमत भएका छन् ।
दुवै प्रदेशका सरकारहरूबीच बिहीबार चार बुँदे सहमति कायम भएको हो । सहमति पत्रमा आसामका सीमा सुरक्षा तथा विकास मन्त्री अतुल बोरा र सचिव जीडी त्रिपाठी, मिजोरमका गृहमन्त्री लाल चम्लियाना र गृहसचिव भन्लाल गठसाकाले हस्ताक्षर गरेका छन् ।
केन्द्रीय गृह मन्त्रालय, केन्द्र सरकार तथा दुवै प्रदेशका मुख्यमन्त्रीहरूले सीमा विवाद अन्त्यका लागि लिएको पहलकदमीको सहमति पत्रमा स्वागत गरिएको छ । गत २६ जुलाईमा दुवै राज्यका सिमानामा झडप भएको थियो ।
त्यसयता सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । सीमामा निगरानी कायम राख्दै सुरक्षाकर्मीको संख्या घटाउने सहमति पनि दुवै सरकारबीच भएको छ । सीमामा दुवै प्रदेशका प्रहरीबीच पनि झडप भएको थियो । त्यसक्रममा ६ जना प्रहरी मारिएका थिए ।
आसाम र मिजोरमबीच लामो समयदेखि सीमा विवाद छ । केन्द्र सरकारले सन् १९९४ देखि सीमा विवाद अन्त्यका लागि प्रयास गरिरहेको छ । दुई प्रदेशबीच एक सय ६४ किलोमिटर लामो सीमा छ । दुवै प्रदेशको सीमामा प्रशस्त प्राकृतिक स्रोत उपलब्ध रहेकाले त्यसको दोहन कसले गर्ने भन्नेमा विवाद देखिँदै आएको छ ।












