प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ
मोरङ, साउन २१ : प्रदेश १ को प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई प्रहरीले...
मोरङ, साउन २१ : प्रदेश १ को प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्मा गाउँपालिका ६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका ८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र धनकुटा शहिदभूमि गाउँपालिका ३ का २१ वर्षीय खपाङ राई रहेका छन्।
प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राईबाट नगद १ लाख १८ हजार रपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद २ लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरेको हो।
उनीहरु उपर शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।











