Kathmandu Press

भारतीय दूतावासकाे पत्रबारे प्रधानमन्त्रीले भने– मलाई कूटनीतिक संवादबाट अनभिज्ञ राखियाे

काठमाडौं, असार २६ :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने भारतीय तरकारी बिनापरीक्षण आउन नदिने सरकारको निर्णय भारतीय दूतावासले पत्र लेखेपछि ख....

भारतीय दूतावासकाे पत्रबारे प्रधानमन्त्रीले भने– मलाई कूटनीतिक संवादबाट अनभिज्ञ राखियाे
फाइल फोटो

काठमाडौं, असार २६ :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने भारतीय तरकारी बिनापरीक्षण आउन नदिने सरकारको निर्णय भारतीय दूतावासले पत्र लेखेपछि खुलेकोबारे आफू अनभिज्ञ रहेकोमा दुःख व्यक्त गरेका छन् । नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दुःख व्यक्त गरेका हुन् । 

कार्यक्रममा ओलीले भूल स्वीकार गर्दै भने, ‘अब एउटा कुरामा चाहिँ भूल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कूटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारे जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।’

प्रधानमन्त्री ओलीले असार २१ गते शनिवार नेकपाको संसदीय दलको बैठकमा बोल्दै भनेका थिए, ‘भारतबाट पत्र आयो ! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र  मैले बुझेको छैन । मन्त्रालयहरुबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो । त्यस कारण अलिकति समस्या पर्यो । हाललाई यसलाई छोड्नु पर्यो र हामीले क्वारेन्टाइनहरु सुदृढ गर्नु पर्यो, क्वारेन्टाइन विकास गर्नु पर्यो अनि यसलाई लागू गर्नु पर्यो भनेर हाम्रा मन्त्रालयहरुबाट प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति ।”

स‌ंसदीय दलमा ओलीले क्वारेन्टाइनको उचित व्यवस्थापनपछि भारतबाट आउने तरकारीमा विषादी परीक्षण गरिने बताएका थिए । प्रधानमन्त्री ओलीले कतै–कसैको दबाबका आधारमा विषादी जाँचपासबाट सरकार पछि नहटेको दाबी गरेका  थिए । 

सरकारले भारतबाट आउने तरकारी सीमा क्षेत्रमा परीक्षण नगरी स्वेदशमा भित्रिन नदिने निर्णय गरेकोमा भारतका तर्फबाट पत्र आएपछि सरकारले  खुला गरेको आरोप लाग्दै आएको छ ।

त्यसकाे चार दिनपछि प्रधानमन्त्री ओलीले भने, 'मैले प्रधानमन्त्रीको हिसाबले जानकारी पाउनुपर्थ्यो तर जानेर वा नजानेर जानकारी दिइएन । एउटा यथार्थ मबाट लुकेको रहेछ । त्यसैले मैले आएको छैन भन्दा जनतामा भ्रम पर्ने अवस्था उत्पन्न भयो । विरोधीले प्रचार गर्ने अवसर पाए ।'

प्रधानमन्त्रीले सीमा क्षेत्रमा परीक्षणका लागि आवश्यक जनशक्ति र साधन नभएकाले अहिलेलाई स्थगन गरिएको बताउँदै यो कदम कुनै देश लक्ष्यित नभएको समेत बताए। 

उनले भारतका राजदूततर्फ संकेत गर्दै भने, ‘राजदूतबाट नै भित्रभित्रै कुरा भएको पछि थाहा पाएँ । मैले बोलेको बेलामा जानकारी थिएन ।’ पहिला परीक्षण नगरी तरकारी रोक्नुमा भने मन्त्रालयकाे अनुपयुक्त सूचना, त्यहीअनुसार प्रस्ताव ल्याएको र अलिकति झुक्किएको बताए ।

उनले भारततर्फ संकेत गर्दै भने, ‘कुनै देशलाई मात्रै लक्षित गरेर यो प्रक्रिया चालिएको हैन । थाइल्याण्ड, बंगलादेश, अमेरिका, ब्राजिल लगायतका सबै राष्ट्रबाट आउने सामानको परीक्षण हुन्छ ।’

अहिले विष भित्र्याउन लागेको भनेर आफ्नो आलोचना गर्दै कोही राष्ट्रवादी पल्टिन खोजे पनि सरकारले विश्व व्यापार संगठन (डब्ल्युटीओ) लाई पत्र पठाएर सबै सदस्य राष्ट्रलाई परीक्षणसम्बन्धी विषयमा भन्न आग्रह गरेको पनि जानकारी दिए । ‘ जहाँबाट आउने हो त्यता नै परीक्षण गरेको प्रमाणपत्र लिएर आएमा दोहोरो जाँच गरिने छैन’, उनले भने, ‘सीमा क्षेत्रमा अहिले नजाँचिए पनि भित्रिइसकेपछि पनि जाँच्न सकिन्छ ।’ 

प्रकाशित मिति: ११:१६ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्