ऐन बनेको १६ महिना बितिसक्दा पनि गठन भएन विपद् व्यवस्थापन प्राधिकरण
काठमाडौं, असार २५ : सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको १६ महिना वितिसक्दा पनि विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सकेको छैन।&nbs....
काठमाडौं, असार २५ : सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको १६ महिना वितिसक्दा पनि विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सकेको छैन।
लामो समयसम्म प्राधिकरण गठन हुन नसक्दा सत्तारुढ दलकै सांसद र नेताहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन्। कानून, राष्ट्रिय रणनीति, कार्यनीति, बजेट लगायत सबै भएर पनि सरकार प्राधिकरण गठनमा उदासिन भएको टिप्पणी सर्वत्र हुन थालेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका विपद् विज्ञ डाक्टर गंगालाल तुलाधरले विभिन्न बहानामा प्राधिकरण गठन गर्न ढिलाइ गर्नु सरकारको गैरजिम्मेवारी भएको टिप्पणी गरे। उनले ऐन, कानून, नियम, नीति र रणनीति अनुसार इमान्दार भएर सरकारले ऐन कार्यान्वयन गर्दै प्राधिकरण गठन गर्नुपर्ने बताए।
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा पछिल्लो समय निकै राम्रा काम र उपलब्धि भएपनि त्यसको एकीकृत प्रणालीको व्यवस्था गर्न नसक्दा परिणाम शून्य देखिएको छ। विपद् व्यवस्थापन राष्ट्रिय प्राधिकरण गठन हुन नसक्दा तल्लो तहसम्म विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ र पुनर्निर्माणका काम प्रभावकारी हुन सकेका छैनन्। विपद्बाट पुग्ने मानवीय र भौतिक क्षतिलाई सरकारले संवेदनशील भएर नहेरेकै कारण प्राधिकरण गठनमा ढिलाइ भएको डा. तुलाधरको भनाइ छ।
मनसुन सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य विपद्बाट भएको क्षति र प्रभावितको पुनःस्थापना तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले तत्काल प्राधिकरण गठन गर्न माग गर्दै आएका छन्।
संसदीय समितिले सरकारलाई तत्काल प्राधिकरण गठन गर्न निर्देशन नै दिइसकेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको असार ९ गते बसेको बैठकले विपद् जोखिम व्यवस्थापन सम्बन्धी कार्यलाई एकरुपता ल्याउन र पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ र पुनर्निर्माण कार्यमा सम्बन्धित निकायहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्न, विपद् व्यवस्थापन सम्बन्धी क्रियाकलावको प्रभावकारी कार्यान्वयन एवं सञ्चालन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यथाशिघ्र गठन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो।
नेपाल बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिमा ३० औं, जलवायु परिर्वतनजन्य विपद् जोखिममा चौथो, भूकम्पीय जोखिमका दृष्टिले ११ आंै र बहुप्रकोपीय विपद् जोखिमका दृष्टिले २० औं स्थानमा पर्दछ।
गृह मन्त्रालयले वर्षेनी प्रकाशन गर्ने विपद् जोखिम प्रतिवेदनका अनुसार, विभिन्न विपद्का कारण वर्षेनी एक हजार जनाको मृत्यु हुने गरेको छ भने ६ लाख ४० हजार मानिस प्रभावित हुने गरेका छन्।






