भूकम्पले भत्किएका तीन सय ७५ विद्यालय पुनर्निर्माण
मकवानपुर, साउन २० : भूकम्पले भत्किएका मकवानपुरमा चार सय नौ वटा सामुदायिक विद्यालयमध्ये तीन सय ७५ वटा विद्यालयको भवन पुनर्निर्माण भएको छ।राष्ट्रिय पुनर्निर्माण...
मकवानपुर, साउन २० : भूकम्पले भत्किएका मकवानपुरमा चार सय नौ वटा सामुदायिक विद्यालयमध्ये तीन सय ७५ वटा विद्यालयको भवन पुनर्निर्माण भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्षमा जिल्लाभित्र कूल तीन सय ७५ विद्यालयको कूल एक हजार ६ सय ६५ कक्षाकोठा निर्माण सम्पन्न भएको हो।
मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पु¥याएको थियो। तीनवटा मोडालिटीमा क्षति पुगेका विद्यालयको पुनर्निर्माण कार्य तीव्ररूपमा अगाडि बढाइरहेको हेटौँडास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्री पाठकले जानकारी दिए।
पुनर्निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने ३१३, सङ्घसंस्थाको सहजीकरणमा ३२ र जापान सरकारको ऋण सहयोग (जाइका) र एशियाली विकास बैंक (एडीबी)का तर्फबाट ३४ वटा छन्। विद्यालयमा कक्षाकोठाबाहेक १४९ विद्यालयमा शौचालय व्यवस्थापन र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन सम्पन्न गरिएको छ।
पहिलो मोडालिटीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय भवनतर्फ ३१३ विद्यालय भवनको एक हजार २६ कक्षाकोठा, १४९ शौचालय र ८४ विद्यालय खानेपानी कार्यक्रम रहेको छ । सोमध्ये आव २०७३/७४ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा र २०७४/७५ मा ६८ विद्यालय भवनका २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन्।
आव २०७५/७६ (प्रथम) मा ६५ विद्यालय भवनका २०० कक्षाकोठा, आव २०७५/७६ (दोस्रो)मा ५१ विद्यालय भवनका १५३ कक्षाकोठा तथा ७० शौचालय निर्माण भएको थियो । यस्तै २०७६/७७ मा ६१ विद्यालय भवनका २०५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको थियो।
उक्त कार्यक्रम आव २०७७/७८ मा निर्माण भएको कार्यालयले जनाएको छ। यस्तै आव २०७७/७८ का लागि थप आठ विद्यालय भवनका २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भइआएको थियो।
जाइका र एडीबीका तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत ठेक्का सम्झौता भएका गरी कूल ५६ विद्यालयका ७०० कक्षाकोठा बोलपत्र प्रक्रियाबाट निर्माण हुने क्रममा रहेको छ।
त्यस्तै सङ्घसंस्थाका तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २२१ कक्षाकोठा निर्माण भएको थियो । एकाइका प्रमुख पाठकका अनुसार आव २०७७/७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कूल ४०९ विद्यालय भवनका एक हजार ९४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकामा ३७५ विद्यालयका एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन्। (रासस)











