ऐन संशोधन गरेर नागरिकता व्यवस्था गरिदिन माग
काठमाडौं, साउन १९ : नागरिकताविहीन नेपालीहरूले संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न माग गरेका...
काठमाडौं, साउन १९ : नागरिकताविहीन नेपालीहरूले संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न माग गरेका छन्।
उनीहरुले विगतमा नागरिकता नपाएर गुमाएका सेवासुविधाको क्षतिपूर्ति पाउनुपर्ने मागसमेत गरेका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा गरिएको पत्रकार सम्मेलनमा नागरिकताविहीन नेपालीका संयोजक इ. इन्द्रजित साफीले संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता नपाउँदा आफूहरू राज्यविहीन हुन पुगेको बताए । उनले नागरिकता नहँुदा आफूहरु सेवासुविधाबाट वञ्चित भएकोे उल्लेख गर्दै त्यसको क्षतिपुर्ति सरकारले दिनुपर्नेमा जोड दिए।
उनले राष्ट्रले नागरिकता नदिए बुधबार (साउन २०) देखि माइतीघर मण्डलाबाट जुलुस निकाल्ने र सांसद भवनअगाडि शान्तिपूर्ण धर्नामा बस्ने बताए।
‘भोलिदेखि धर्नाको कार्यक्रम छ, जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म पछि हट्दैनौँ,’ उनले भने।
उनले नेपालमा नागरिकताविहीनको संख्या साढे १२ लाख रहेको जानकारी दिए।
जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या नेपालमा ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको उनको भनाइ थियो ।
उनले संविधानअनुसार विगत ६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मका आधारमा नागरिकता पाएका बुवा, आमा र आमाको नामबाट नागरिकता नपाएका नेपालीहरुको जीवन निकै अप्ठ्यारो र असहज भएको बताए।
उनले शान्तिपूर्ण धर्ना कार्यक्रमका लागि आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंंलाई आग्रह पनि गरे।
कार्यक्रममा नागरिकताविहीनको समर्थन गर्दै राजु कुमार महतोले यो मुद्दा जन्मसिद्ध सन्तान वा आमाको मात्र होइन यो पुरै नेपालको मुद्दा भएको जिकिर गरे।











